नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यको आग्रह


दाङ—रसुवामा आएको अचानक बाढीको असर नारायणी नदीमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
मुख्यमन्त्री आचार्यले विशेषगरी नवलपरासी पश्चिमको सुस्तालगायत नारायणी नदी आसपासका जोखिमयुक्त बस्तीमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । उनले, नदीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न अपिलगरेका छन् ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै लुम्बिनी प्रदेश सरकारले सुरक्षा निकाय तथा सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूसँग नियमित समन्वय गरिरहेको जनाएको छ । जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आए तत्काल उद्धार तथा स्थानान्तरण गर्न सकिने गरी आवश्यक तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
मुख्यमन्त्री आचार्यले नदी तथा खोलाको बहाव बढेको अवस्थामा अनावश्यक रूपमा नदी किनारमा नजान, जोखिमयुक्त स्थानबाट टाढा रहन तथा सम्भावित विपद्को अवस्थाबारे सचेत रहन नागरिकलाई आग्रह गरेका छन् ।
नारायणी नदीको बहावमा आएको परिवर्तनले नवलपरासी पश्चिमको सुस्ता क्षेत्रलगायत तटीय बस्तीमा जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासन र सुरक्षा निकायलाई सम्भावित जोखिमको निरन्तर निगरानी गर्न भनिएको छ । सुरक्षित स्थानको पहिचान, उद्धार सामग्रीको तयारी तथा आवश्यक परे तत्काल नागरिकलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउनसमेत प्रदेश सरकारले आग्रह गरेको छ ।
यसैबीच, मौसम तथा नदीको बहावका आधारमा रोल्पाका केही क्षेत्रमा समेत प्रभाव पर्न सक्ने भएकाले त्यहाँका नदी तथा खोला आसपासका जोखिमयुक्त क्षेत्रमा पनि उच्च सतर्कता अपनाउन अपिल गरिएको छ ।
मुख्यमन्त्री आचार्यले विपद्को अवस्थामा नागरिकको जिउधनको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै सम्भावित जोखिम न्यूनीकरण, उद्धार तथा राहतका लागि सबै निकायबीच प्रभावकारी समन्वय कायम गरिने जनाएका छन् ।








प्रतिकृया दिनुहोस्