शंकर पोखरेलको आरोप– निष्पक्ष छानबिन गर्न कार्की आयोग बनेको होइन भन्ने पुष्टि भयो


नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भदौ २३ र २४ गतेको आन्दोलनको निष्पक्ष छानबिनका लागि गौरीबहादुर कार्की नेतृत्वको आयोग नबनेको प्रतिवेदनले पुष्टि गरेको टिप्पणी गरेका छन् ।
कार्की आयोगको प्रतिवेदन एकपक्षीय भएको टिप्पणी भइरहेका बेला महासचिव पोखरेलले पनि त्यसैलाई बल पुग्नेगरी टिप्पणी गरेका हुन् ।
‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ’, महासचिव पोखरेलले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।’
महासचिव पोखरेलले निर्वाचन र जाँचबुझ आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको पनि बताएका छन् ।
अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको भन्दै पोखरेलले अबको बाटो सजिलो हुन नरहेकाले राष्ट्र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिएको बताएका छन् ।
‘यस्तो अवस्थामा, ‘नयाँ शक्ति’ र ’नेतृत्व’लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्छ’, महासचिव पोखरेलले भनेका छन्,‘तर पनि सत्य कुरा के हो भने– लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरूको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि होइन ।’








प्रतिकृया दिनुहोस्