August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

हामीले पाएको दु:ख अब हाम्रो सन्ततिले पाउनु हुँदैन: डा.लेखजंग

Advertisement

भैरहवा–प्रतिनिधि सभा सदस्यमा रूपन्देही-३ बाट नवनिर्वाचित डा.लेखजंग थापाले अबको नेपाललाई समृद्ध र उज्यालो बनाउने लक्ष्यका साथ अघि बढ्ने बताएका छन् ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्बाचित भएपछि मतदातालाई धन्यबाद दिन मतदाताको घरदैलोमा पुगेका डा.थापाले आफ्नो चुनावी बिजयी यात्रा सहज नभइ निकै चुनौतीपूर्ण रहेको पनि बताए । प्रतिनिधि सभा सदस्यमा रूपन्देही ३ बाट गत शनिवार आफू निर्बाचित भएको घोषणा भएपछि डा.थापा यतिबेला मतदाताको घरदैलोमा पुगेर धन्यवाद व्यक्त गर्नमा व्यस्त छन् । निर्वाचनमा विजयी भएपछि उनले क्षेत्रका विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट गर्दै सहयोग, माया र विश्वासका लागि आभार व्यक्त गर्ने गरेका छन् ।

‘मेरो यो चुनावी बिजय यात्रा सहज नभइ निकै चुुनौतीपूर्ण थियो । यहाँहरु सवैको माया सद्भाव र मप्रतिको बिश्वासले जित हासील भएको हो’, उनले भने, ‘यहाँहरुले मप्रति देखाउनु भएको माया सद्भाव र बिश्वासलाई खेर जान दिने छैन ।’ उनले विगतका कठिन दिनहरू सम्झिँदै अब आउने पुस्ताले त्यस्तो दुःख भोग्न नपरोस् भन्ने आफ्नो चाहना रहेको बताए । ‘हामीले विगतमा धेरै दुःख भोग्यौँ, अब हाम्रो सन्ततिले दुःख होइन, सुख र अवसर पाउनु पर्छ ।’

अहिलेको यो बिजय केवल आफ्नो मात्र नभएर सम्पूर्ण रुपन्देही–३ का सवै जनताको साझा बिजय भएको उनले जनाए । आगामी दिनमा जनताको अपेक्षा पूरा गर्न आफू सजग र प्रतिबद्ध रहने पनि उनले बताए । देश र समाजको भविष्यप्रति चिन्ता व्यक्त गर्दै उनले अबको नेपाललाई समृद्ध र उज्यालो बनाउने लक्ष्यका साथ अघि बढ्ने बताए । ‘भोलि नेपालको भविष्य कस्तो हुने ? भन्ने वारेमा धेरै चिन्ता लाग्छ’, उनले भने, ‘तर नेपाली जनतालाई सुख, साथ र राम्रो भविष्य दिन म दृढताका साथ काम गर्नेछु ।’

जनताले दिएको माया, सम्मान र विश्वासलाई कहिल्यै नतोड्ने प्रतिबद्धता र आफू सधैँ जनताकै बीचमा रहने जनाए । आफ्नो जन्मथलो र कर्मथलो रुपन्देही भएको उल्लेख र यहाँका जनतासँग निरन्तर जोडिएर काम गर्ने भनाइ उनको थियो ।

रास्वपाकी समानुपातिक उम्मेदवार ज्ञानु पौडेलले पनि मतदाता, शुभचिन्तक तथा कार्यकर्ताको साथ र सहयोगका कारण नै यो जित सम्भव भएको बताइन् । जनताले दिएको समर्थनले पार्टीलाई अझ जिम्मेवार बनाएको धारणा उनको थियो । भेटघाटका क्रममा स्थानीय मतदाताले नवनिर्वाचित डा.थापासँग क्षेत्रको विकास, रोजगारी, सुशासन, भ्रष्टाचारको अन्त्य, शिक्षा, स्वास्थ र पूर्वाधारका विषयमा अपेक्षाको धारणा व्यक्त गरेका थिए ।