June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

मर्चवारमा ‘घन्टी बजाउँदै’ रास्वपाका कन्हैया बनियाँ

Advertisement

भैरहवा– दुई साता अघि राष्ट्रिय स्वतनत्त पार्टी (रास्वपा) सभापति रबि लामिछाने रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्र भ्रमणमा आउँदा कोटहीमाई–६ स्थित मर्चवारीमाई मन्दिरमा घन्टी दान गरे । मन्दिरलाई दान गर्नुअघि रुपन्देही–४ बाट रास्वपाका उम्मेदवार कन्हैया बनियाँ र लामिछानेले संयुक्त रुपमा उक्त घन्टी बजाएर मर्चवारमा परिवर्तनको उद्घोष गरेका थिए ।

Advertisement

सुगम जिल्लामा भएर पनि वर्षौदेखि विकट मर्चवारको मुहार परिवर्तनका लागि आफू आवद्ध दल त्यागेर बनियाँ रास्वपा प्रवेश गरेको सुनाउँछन् । आफू प्रदेशसभा सदस्य हुँदा कुनै काम गर्न नसकेपछि मर्चवारको आवाज संघीय संसदमा पुर्याउन रास्वपा रोजेको उनको भनाई छ । मर्चवारका जनताको विश्वासलाई कायम राख्न पनि कठोर निर्णय लिएको उनले बताए ।

साविक दल छाडेर रास्वपा प्रवेश लगत्तै उनले आफ्नो निर्वाचन क्षेत्रमा परिवर्तनको घण्टी बजाइरहेका छन् । उनको प्रवेशसँगै मर्चवारका युवाले समर्थन व्यक्त गर्दै उनको पक्षमा माहोल बनाइरहेका छन् । सभापति लामिछाने आउँदा होस कि बरिष्ठ नेता बालेन्द्र शाह नैं आउँदा उनले मर्चवार फेर्नु पर्यो भनेर सन्देश दिइरहेका छन् ।

मर्चवारको सिमावर्ती क्षेत्र रायपुरमा जन्मिएका बनियाँले सदरमुकाम आउनुपर्दा गतिलो सडक अभावमा धेरै समस्या खेप्नु परेको थियो । गाउँमै शिक्षा, स्वास्थ्य, रोगजारीको अभाव झेल्नु पर्यो । आफूले भोगेका र देखेका तिनै समस्या हल गरेर मर्चवारबासीको जीवन परिवर्तन गर्ने कसम खाएको उनले बताए । ‘मर्चवारमा जति नेता भए, जतिले चुनाव जिते, सबैले गफैं दिए,’ उनले भने, ‘अब गफ गरेर चल्दैन भनेर मैले परिवर्तनको घण्टी बजाएको हुँ ।’

उनले बजाएको घण्टी मर्चवारमा गुन्जायमान देखिन्छ । ग्रामीण क्षेत्रका बासिन्दा घण्टीको पक्षमा खुलेर कुराकानी गर्न थालेका छन् । गाउँका बासिन्दालाई बनियाँ, बालेन र घण्टीबारे जानकारी छ । उनीहरु युवालाई अवसर दिएर एकपटक आफ्नो क्षेत्र परिवर्तन भएको हेर्न आतुर छन् । ‘अहिलेसम्म धेरै नेतालाई जिताएर पठायौं,’ रायपुरका एक स्थानीयले, ‘कसैले केही गरेनन्, यसपटक घण्टी बजाउने बिचार छ । परिवर्तन जरुरी छ ।’

रास्वपा उम्मेदवार कन्हैयाँ भने मर्चवार परिवर्तनका लागि आफूले त्याग र बलिदान गरेको जिकिर गर्छन् । जेनजीको माग र मुलुकमा सुशासन कायम गर्नका लागि आफू यसपटक प्रतिस्पर्धामा उत्रिएको बताए । रास्वपा बरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउन मर्चवारबाट पनि योगदान होस् भनेरै यसपटक निर्वाचन रोजेको जनाए ।

मर्चवार क्षेत्रमा वर्षौदेखि हुँदै आएको कुशासन र वेथिति बिरुद्ध पनि आफ्नो उम्मेदवारी रहेको उनले बताए । क्षेत्र सुधारका एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहेको उनले जनाए । आफ्नो परिवर्तनको नाराका कारण जनसमर्थन मिलिरहेको उनको भनाई छ । युवा मात्र नभएर बालकदेखि बृद्धसम्मले आफूलाई समर्थन र आशीर्वाद प्रदान गरिरहेको उनले बताए । अब क्षेत्र नम्बर ४ अभावबाट मुक्त हुने उनले जनाए । पार्टीका बरिष्ठ नेता बालेन्द्रले मर्चवार भ्रमण गरेपछि त्यहाँको माहोल थप मजबुत हुँदै घण्टीको पक्षमा देखिएको स्थानीय रास्वपा नेताहरु बताउँछन् ।

रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै