तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव सम्पन्न


भैरहवा– तमु प्ये ल्हु सङ्घ भैरहवाले आफ्नो रजत महोत्सव कार्यक्रम सम्पन्न गरेको छ। समुदायको सांस्कृतिक पहिचान, परम्परा र सामाजिक एकतालाई सुदृढ गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम उत्साहपूर्ण रुपमा सम्पन्न भएको आयोजकको भनाई छ ।
कार्यक्रम उद्घाटन गर्दै मायादेवी गाउँपालिकाका अध्यक्ष धुव्रनारायण चौधरीले तमु समुदायले समाज निर्माण र रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे । ‘यो महोत्सवले तमु परिवारको सामाजिक उत्तरदायित्व र योगदान स्पष्ट रूपमा देखाउँछ,’, उनले भने । साथै उनले भाषा, कला, संस्कार र संस्कृतिको संरक्षणमार्फत समाजलाई एकताबद्ध बनाउन तमु समुदायले खेलेको भूमिकाको प्रशंसा गरे ।
कार्यक्रममा संघका अध्यक्ष कृष्णबहादुर तमु र ओम बहादुर कउचे तमुले इतिहास संरक्षणमा लागिरहेको जनाए । महोत्सवका अवसरमा सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा सामुदायिक योगदानबारे चर्चा गरिएको थियो। वक्ताहरूले तमु समुदायको पहिचान संरक्षणसँगै सामाजिक सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।
रजत महोत्सवले तमु प्ये ल्हु सङ्घको २५ वर्षे यात्रालाई स्मरण गर्दै आगामी दिनमा अझ सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ।








प्रतिकृया दिनुहोस्