May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बर्दघाटमा ट्रमा सेन्टर निर्माण तीव्र, विनोद चौधरीद्वारा स्थलगत अनुगमन

Advertisement

परासी– नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं नेपाली काँग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीले आज बर्दघाट नगरपालिका–चिसापानीस्थित निर्माणाधीन ट्रमा सेन्टर पुगेर परियोजनाको समग्र प्रगतिबारे जानकारी लिँदै स्थलगत अवलोकन गरेका छन् । एक वर्षअघि सुरु भएको दुई तल्ले भवनको पहिलो तल्लाको ढलान कार्यक्रम आज तय गरिएको छ। अवलोकनका क्रममा चौधरीले परियोजनाको महत्व औंल्याउँदै सम्बन्धित निर्माण पक्षलाई समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन् ।

Advertisement

चिसापानी अस्पताल परिसरमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने उद्देश्यले अघि बढाइएको यो आयोजना आगामी असोज २३ गते भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यस अवसरमा विनोद चौधरीले भने, ‘बर्दघाट–चिसापानीमा निर्माण भइरहेको यो ट्रमा सेन्टर केवल एउटा भवन होइन, यो जनताको जीवन बचाउने आशाको केन्द्र हो। पूर्व–पश्चिम राजमार्गमा हुने दुर्घटनाका घाइतेले अब समयमै उपचार पाउनेछन्। मैले निर्वाचनका बेला गरेको वाचा अनुसार यस क्षेत्रको स्वास्थ्य पूर्वाधारलाई सुदृढ बनाउने प्रतिबद्धताका साथ यो काम अघि बढिरहेको छ, र तोकिएको समयमै सम्पन्न गर्न म स्वयं निरन्तर अनुगमनमा रहनेछु।’

बर्दघाट नगरपालिकाका मेयर शम्भु लाल श्रेष्ठका अनुसार निर्माण सम्पन्न भएपछि ट्रमा सेन्टरले यस क्षेत्रको स्वास्थ्य सेवामा ठूलो टेवा पुर्याउनेछ। निर्माणाधीन यस ट्रमा सेन्टरले पूर्व–पश्चिम राजमार्गको नवलपरासी–बुटवल खण्डमा हुने सवारी दुर्घटनाका पीडितलाई तत्काल ट्रमा उपचार उपलब्ध गराउनुका साथै स्थानीय तहका आकस्मिक बिरामीलाई सहज सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । निर्वाचन वाचा अनुसार गौरवको आयोजनाका रूपमा अघि बढाइएको यस परियोजनापछि नवलपरासीबासीमा उत्साह र सकारात्मक अपेक्षा बढेको छ ।

पश्चिम नवलपरासीमा कांग्रेस प्रवेश तीव्र, विनोद चौधरीद्वारा स्वागत
नवलपरासी पश्चिममा फागुन २१ को आम निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसप्रति आकर्षण उल्लेखनीय रूपमा बढेको देखिएको छ। विशेषगरी बर्दघाट, प्रतापपुर, सुस्ता र सरावल क्षेत्रबाट सयौं युवा, आमा–बुवा, दाजु–भाइहरू कांग्रेस प्रवेश गरेका छन्। पार्टी प्रवेशको यो लहरले क्षेत्रीय राजनीतिक माहोललाई थप तातेको छ।

नवलपरासी पश्चिम क्षेत्र नं. १ बाट कांग्रेसका उम्मेदवार तथा केन्द्रीय सदस्य विनोद चौधरीले नयाँ सदस्यहरूलाई स्वागत गर्दै पछिल्लो एक हप्तामा मात्रै उल्लेख्य संख्यामा पार्टी प्रवेश भएको जानकारी दिए। उनले युवादेखि विभिन्न पेशा र समुदायका व्यक्तिहरूको सहभागिताले बदलिएको कांग्रेसप्रति जनताको भरोसा देखिएको बताए।

चौधरीका अनुसार यो लहरले सम्पूर्ण पार्टी पंक्तिलाई ठूलो हौसला दिएको छ। ‘नयाँ र नवीन सोच खोजेका हरेक नेपालीको छाता नेपाली कांग्रेस हो। समाजका हरेक समूहको सोच र आवाज कांग्रेस पार्टीले बोकेको छ। अब चुनावमा कांग्रेसलाई जिताएर देश विकासमा जुट्नुपर्ने समय आएको छ,’ उनले भने।

स्थानीय तहमा देखिएको कांग्रेस प्रवेशको क्रमलाई राजनीतिक विश्लेषकहरूले आगामी निर्वाचन परिणामसँग जोडेर हेर्न थालेका छन्। कांग्रेस पक्षधरहरू भने यसलाई रूपान्तरित कांग्रेसप्रति आम नागरिकको समर्थनको संकेतका रूपमा व्याख्या गरिरहेका छन्।