बर्दियाबाट ६ जना भारतीय नागरिक प्रहरी नियन्त्रणमा


भैरहवा–बर्दियाको सदरमुकाम गुलरिया हुँदै तीनजना नेपाली बालबालिकालाई भारततर्फ लैजादै गरेको अवस्थामा प्रहरीले छ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
मंगलवार राती गुलरिया नगरपालिका–७ भन्सार रोडबाट उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनिहरुको साथमा रहेका तीनजना नेपाली बालवालिकाको अभिभावकलाई सम्पर्कमा ल्याएर प्रहरीले बालवालिकाको उद्धार गरेको छ । उद्धार गरिएका बालबालिकामा रोल्पा उपरकोटका १५ वर्षीया बालिका, रोल्पा खाराका १३ वर्षीय बालिका र दाङ चौघेरा फुलवारीका ८ वर्षीय बालक रहेका छन् । नेपाली बालवालिकालाई कुन प्रयोजनका लागि भारततर्फ लैजान लागिएको थियो ? भन्ने खुलेको छैन ।
प्रहरी नियन्त्रणमा रहेका ६ जना भारतीय नागरिक भारत उत्तर प्रदेश बहराइच जिल्लाका हुन् । बहराइचकी ७४ वर्षीय लेडी महत, उनका छोरा ३४ वर्षीय हिरालाल महत, बुहारी २६ वर्षीय ज्ञानकुमारी महतलाई नियन्त्रणमा लिएको छ । भारत उत्तरप्रदेश अयोध्या गोलाई गाउँकी ३५ वर्षीया सुनिता महत, बहराईचका २४ वर्षीय भुल्लु महत र १९ वर्षीय मुकेश महतपनि प्रहरी नियन्त्रणमा छन् । नियन्त्रणमा रहेका भारतीय नागरिकको समूहमा एक काखे बालकपनि रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा नियन्त्रणमा लिएका उनीहरू दाङको घोराही बजारमा गमलाको काम गर्दै आएको खुलेको छ । पहिलेदेखि नै भारतीय नागरिकसँग ती नेपाली बालबालिका बस्दै आएको खुलेको भए पनि भारतमा कुन प्रयोजनका लागि लैजान खोजिएको हो ? भन्ने वारेमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले बताएका छन ।








प्रतिकृया दिनुहोस्