October 8, 2026, Thursday
२०८३ आश्विन २३ शुक्रबार

भैरहवा बहुमुखी क्याम्पसमा भोलीदेखि खेलकुद महोत्सव–२०८२

Advertisement

भैरहवा– बुधवारदेखि भैरहवा बहुमुखी क्याम्पसमा खेलकुद महोत्सव–२०८२ हुने भएको छ। महोत्सवको उद्घाटन अवसरमा बुधवार बिहान साढे ७ बजे बुद्धचोकस्थित लुम्बिनी गेटबाट म्याराथन सुरु भई देवकोटा चोक हुँदै क्याम्पस परिसरमा पुग्नेछ।

Advertisement

मंगलवार पत्रकार सम्मेलन गरी क्याम्पसले महोत्सवबारे जानकारी दिएको हो। खेलकुद महोत्सवमा बीए, बीबीएस, बिएड, बीएससी, बीबिएम, बीबीए, बीसीए, बीएससी आइटी, बीआइटी लगायत स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहनेछ।

महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न क्याम्पस प्रमुख लक्कीप्रसाद जोशीको संरक्षकत्वमा सहायक क्याम्पस प्रमुख इन्द्रबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय मूल समिति गठन गरिएको छ। सहायक क्याम्पस प्रमुख गणेशप्रसाद पाण्डे र शंकर पन्थीलाई अनुगमनको जिम्मेवारी दिइएको छ। त्यस्तै, विद्यार्थी कल्याण प्रमुख अरुणा कुमारी भुषालको संयोजकत्वमा ३ सदस्यीय खेलकुद सामाग्री व्यवस्थापन समिति गठन गरिएको छ।

क्याम्पस प्रमुख जोशीले विद्यार्थीको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद महोत्सव आयोजना गरिएको बताए। सहायक क्याम्पस प्रमुख थापाले धेरै विधा समेटेर खेलकुद महोत्सव आयोजना गरिएको यो पहिलो पटक भएको जानकारी दिए।

महोत्सवमा छात्रा तथा छात्र दुवैतर्फ भलिबल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, १०० मिटर दौड, चेस, इलेक्ट्रोनिक गेम र म्याराथन प्रतियोगिता हुनेछन् भने क्रिकेट र फुटबल छात्रतर्फ मात्र सञ्चालन हुनेछन्। प्रतियोगितामा क्रिकेटतर्फ २० टिम, भलिबल १२ टिम, फुटबल ६ टिम, बास्केटबल ६ टिम, ब्याडमिन्टन ९८ जना, टेबल टेनिस ६२ जना, १०० मिटर दौड ४० जना, २०० मिटर दौड ३० जना, सटपुट ५० जना, चेस १२० जना र म्याराथनमा ४० जना विद्यार्थी सहभागी हुनेछन्।

सहायक क्याम्पस प्रमुख पिताम्बर तिवारीले स्वतन्त्र विद्यार्थी युनियन नहुँदा खेलकुद गतिविधिमा देखिएको रिक्तता पूर्ति गर्न महोत्सव आयोजना गरिएको बताए।