लुम्बिनी आएकी थाई राजपरिवारकी सदस्य आज फर्किंदै


भैरहवा– भारतका बुद्धस्थल भ्रमण गरेर बिहीबार साँझ लुम्बिनी आइपुगेकी थाइल्याण्डको राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानी शुक्रबार अपरान्ह भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदैं मुलुक फर्किने भएकी छन् । बेलहिया नाका हुँदै उनी बिहीबार अपराह्न साढे ४ बजे लुम्बिनी आइपुगेकी हुन् ।
भारतका बौद्ध तीर्थस्थलमा पूजाआजा गरी ४१ वर्षीया उनले लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीमा रात बिताएकी हुन् । बिहीबार साँझ विशेष पूजामा सहभागी भएको लुम्बिनीस्थित थाई मोनास्ट्रीका प्रमुख भिक्षु फ्रा बोधी विदेश वजिरा शुद्धिले बताए । त्यसअघि उनले स्थानीय बासिन्दासँग भेटघाट गरेकी थिइन् ।
शुक्रबार बिहान ९ बजे उनले मायादेवी मन्दिरमा पूजाआजा र प्रार्थना गरेकी छन् । त्यसपछि साढे १२ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ । त्यहाँबाट उनी थाई एयर फोर्सको चार्टर्ड विमान ७३७ बोईङमार्फत २ बजे बैंकक प्रस्थान गर्नेछिन् । बौद्ध धर्मावलम्बीको चार धाम मानिने बौद्धगया, सारनाथ र कुशीनगर पुगेर पूजाआजा गरिन् । चार धामअन्तर्गत पर्ने लुम्बिनी पूजाआजा गर्न यहाँ आएकी हुन् ।
उनी ७० सदस्यीय टोलीको नेतृत्व गर्दै यहाँ आएकी छन् । जनवरी २१ तारिखमा उनी चार्टर्ड विमानद्वारा भारत पुगेकी थिइन् । राजपरिवार सदस्य सिनेनाथ बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन् । राजाले उनलाई शाही नोबल कन्सर्ट (अति विशिष्ट राजपरिवार सदस्य) उपाधि प्रदान गरेका छन् । त्यस्तै राजाले उनलाई भिक्षु भिक्षुणीलाई प्रदान गर्ने चौखुन फ्राको उपाधि पनि प्रदान गरेका छन् ।








प्रतिकृया दिनुहोस्