रासन स्केल वृद्धिको निर्णयले प्रहरी कर्मचारीहरूमा उत्साह बढाएको छः आईजीपी


भैरहवा– नेकपाल प्रहरीका महानिरीक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरुको रासन स्कले बृद्धि गर्ने सरकारको निर्णयले कर्मचारीहरुमा उत्साह बढाएको जनाएका छन् । सरकारले २०८२ फागुन १ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका कर्मचारीहरूको रासनको स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ ।
‘यो निर्णयले नेपाल प्रहरीका कर्मचारीहरूको आर्थिक सुरक्षा, कल्याण र आत्मसम्मानको अनूभूति, कार्यक्षमता र कार्यप्रभावकारितामा सुधार, प्रहरी मनोबल र अनुशासनमा सुधार, प्रहरी कर्मचारीहरूको पोषण र स्वास्थ्यमा सुधार, सांगठनिक छवि र आवद्धताको दरमा अभिवृद्धि हुने अपेक्षा छ’, कार्कीले भनेका छन्, ‘सरकारको निर्णयले सकल दर्जाका प्रहरी कर्मचारीहरूमा अत्यन्त उत्साहको सञ्चार भएको छ ।’
दशकौंदेखिको अपर्याप्त र असमान रासन प्रणालीलाई समय सापेक्ष तथा विवेकसम्मत रूपमा सम्बोधन गर्नुपर्ने सकल दर्जाको मागलाई आफू नेतृत्व सम्हालेको दिनदेखिनै उच्च प्राथमिकताका साथ प्रधानमन्त्री, गृहमन्त्री र सचिव एवम् अर्थ मन्त्रालय समक्ष निरन्तर पहल थालेको उनले जनाएका छन् । ‘दैनिक आहार र पोषणको औसत आवश्यकताको सन्दर्भमा र अन्य सुरक्षा निकायहरूको सन्दर्भमा समेत न्यून र विभेदपूर्ण रहेको नेपाल प्रहरीको रासन स्केलमा गरिएको यस सुधारलाई समग्र नेपाल प्रहरीबाट र आम जनसमुदायबाट समेत अत्यन्त सकारात्मक रूपमा ग्रहण गरिएको छ’, उनले भने ।
आईजीपी कार्कीले जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीतर्फ भएको क्षति केवल भौतिक रूपमा देखिने मानवीय क्षती र भौतिक संरचनाहरूको क्षतिमा मात्र सीमित नभई, यसले प्रहरीको मनोबल र उत्प्रेरणामा समेत उल्लेख्य प्रभाव पारेको उनले जनाए । ‘समुदायको सक्रिय र उल्लेखनीय सहभागिताले हाम्रा भौतिक संरचनाहरू जुर्मुराउँदै उठे तापनि प्रहरी मनोबल उठाउने हाम्रो अथक प्रयास जारी रहेको अवस्थामा नेपाल सरकारबाट भएको यस बिशेष निर्णयले नेपाल प्रहरीका सकल दर्जाहरूमा उर्जा भर्ने र कार्यसम्पादनमा अत्यन्त सकारात्मक प्रभाव पार्ने अपेक्षा छ’, उनले भने ।
रासन स्केलमा भएको वृद्धि नेपाल प्रहरीका हरेक कर्मचारीहरूका लागि आर्थिक सुरक्षा अभिवृद्धि र कल्याणकारी क्षेत्रको विस्तार मात्र नभई अपेक्षाकृत आत्मसम्मानको संरक्षण समेत भएको उनले बताए । ‘दिनरात अविच्छिन्न रूपमा प्रतिकुल परिस्थितिहरू र शारिरीक एवम् मानसिक रूपमा जोखिमयुक्त कार्यसम्पादन गर्ने नेपाल प्रहरीका लागि अत्यावश्यक दैनिक पोषणको उपलब्धतामा उल्लेख्य वृद्धि हुनुले स्वास्थ्य र कार्यक्षमतामा समेत सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ’, उनले भने, ‘यस निर्णयले आम रूपमा सकलदर्जाहरूमा अनुशासन तथा संस्थागत छविलाई समेत अभिवृद्धि गर्ने अपेक्षा छ ।’








प्रतिकृया दिनुहोस्