June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

प्रदेशसभामा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी संशोधन विधेयक पेस हुँदै

Advertisement

दाङ– लुम्बिनी प्रदेशसभाको बुधबारको बैठकमा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी संशोधन विधेयक पेस गर्न लागिएको छ । मुख्यमन्त्री चेत नारायण आचार्यले प्रदेश सरकारमा विभिन्न संघीय र प्रदेश आयोगबाट प्राप्त प्रतिवेदन पनि पेस गर्ने कार्यसूची रहेको छ ।

Advertisement

प्रदेशसभा सचिवालयका अनुसार बुधबारको सम्भावित कार्यसूचीमा प्रदेशसभा सदस्यले विशेष समयमा समसामयिक विषयमा बोल्ने, मुख्यमन्त्री आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पेस गर्नेछन् ।

त्यस्तै सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सैद्धान्तिक छलफलका लागि पेस गर्ने र छलफलमा उठेको प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सैद्धान्तिक छलफलका लागि पेस गर्ने र छलफलमा उठेका विषयमा जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए । सैद्धान्तिक छलफलका लागि पेस हुने दुवै विधेयक मंगलबारको बैठकमा टेबुल भएका थिए ।