बेलहिया नाकामा राष्ट्रिय झण्डाले स्वागत


भैरहवा – विभिन्न मुलुकबाट भित्रिनेलाई नेपाल प्रवेश गरेको अनुभूति दिन रुपन्देहीको बेलहिया नाकामा राष्ट्रिय झण्डा राखिएको छ । बेलहियाबाट डण्डा पुलसम्म सडकको दायाँ बायाँ झण्डा राखिएको हो ।
मुलुक प्रवेश गरेपछि नेपाल आइपुगेको महशुष होस् भनेर दशगजामा रहेको मुख्यद्वारबाट डण्डा पुलसम्म बिजुलीका पोलमा झण्डा राखिएको हो । बेलहिया गाउँ सामाजले आइतबार बिहान नाकामा कार्यक्रम आयोजना गरेर झण्डा राख्ने अभियानको सुरुवात गरेको हो । त्यस क्रममा बेलहियाका स्थानीय बासिन्दा, सरकारी अधिकारी र संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
कार्यक्रम संयोजक अर्जुन गिरीले भन्सार एजेण्ट संघले पोलमा राख्न झण्डा उपलब्ध गराएको बताए । ‘दिनमा सयौं मानिस नाकाबाट भित्रिरहेका हुन्छन्,’ उनले भने, ‘तर, उनीहरुलाई नेपाल आइपुगेको महशुष हुँदैन । त्यसैले आगन्तुकलाई नेपाल प्रवेश गरेको अनुभूति गराउन झण्डा राखेका हौं ।’ यसका साथैं बेलहिया नाकाको नियमित सफाई सुरुवात गरिएको बताए ।
कार्यक्रममा सिद्धार्थ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, सिद्धार्थ नगरपालिका–१, का वडाध्यक्ष उज्वल पोखरेल, भन्सार एजेन्ट संघका अध्यक्ष मधुप्रसाद पन्थी, डण्डास्थित सशस्त्र प्रहरी बीओपीका प्रमुख मनोज गुरुङ, जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रतिमा कार्की, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख हरि डाँगी लगायतको सहभागिता थियो ।
बेलहिया गाउँ समाजले ‘हाम्रो बेलहिया, राम्रो बेलहिया’ नाराका साथ नाका क्षेत्रको सौन्दर्यकरण थालेको छ । यसक्रममा सरसफाई सँगैं पार्किङ व्यवस्थापनलाई जोड दिइएको कार्यक्रम संयोजक गिरीले बताए । ‘हाम्रो मुलुक राम्रो र सुरक्षित छ भनेर सन्देश दिन हामीले राम्रो बेलहिया अभियान थालेका हौं,’ उनले भने, ‘यसलाई निरन्तरता दिइने छ । अरुको मुख ताक्नु भन्दा स्थानीय बासिन्दाले गर्न सक्छौं भनेर देखाइरहेका छौं । यसमा अन्य संघसंस्थाले पनि हातेमालो गरेका छन् ।’








प्रतिकृया दिनुहोस्