June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

भूकम्प जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखिएको छ: मुख्यमन्त्री आचार्य

Advertisement

भैरहवा–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरण गर्ने बिषय लुम्बिनी प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् । भूकम्पबाट हुन सक्ने क्षति न्यूनिकरण गर्न लुम्बिनी प्रदेशमा आवश्यक नीति, कार्यक्रम र पूर्वाधार विकासलाई प्रदेश सरकारले निरन्तर प्राथमिकतामा राख्दै आएको भनाइ उनको छ ।

Advertisement

राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश दिंदै मुख्यमन्त्री आचार्यले भूकम्प जस्तो प्राकृतिक विपद् कहिले, कहाँ र कसरी आउने हो भन्ने निश्चित नभएकाले यसको जोखिम सधैं रहने भएकाले त्यसका लागि सवै निकाय सक्रिय र चनाखो रहिरहनु पर्ने उनले बताए ।

मुख्यमन्त्री आचार्यले जोखिमयुक्त क्षेत्रहरूको पहिचान, सुरक्षित संरचना निर्माण, भवन कोडको कार्यान्वयन तथा विद्यालय र समुदायस्तरमा सञ्चालन भइरहेका सचेतना तथा तयारी सम्बन्धी कार्यक्रमहरूले विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । भूकम्पहरूबाट नेपालले विगतमा ठूलो मानवीय र भौतिक क्षति बेहोरेर पाठ र अनुभव सिकेको र बिगतका अनुभव र कमी कम्जोरीलाई नदोहोरीने गरी सिकाइको रूपमा उपयोग गर्दै जानु पर्ने कुरा सन्देशमा उल्लेख छ ।

‘सुरक्षित संरचना, द्रुत प्रतिक्रिया क्षमता र समुदाय–व्यापी तयारीलाई मजबुत बनाउनु हाम्रो सामूहिक दायित्व हो,’ सन्देशमा भनिएको छ, ‘नागरिक परिचालन र जनसचेतनालाई विस्तार गर्दै प्रत्येक घर, विद्यालय, कार्यालय र समुदायलाई भूकम्प पूर्व तयारी, भूकम्पका बेला अपनाउने उपाय तथा भूकम्पपछि हुने व्यवस्थापनका बारेमा सुसूचित बनाउनु आजको आवश्यकता हो ।’

विद्यालयस्तरदेखि समुदायस्तरसम्म सक्रिय सबै सरकारी तथा गैरसरकारी संस्था, सुरक्षा निकाय, प्राविधिक, स्वयंसेवी युवा, सञ्चारकर्मी र स्थानीय तहमा क्रियाशील समूहलाई उनले धन्यवाद दिएका छन् ।
मुख्यमन्त्री आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षेत्रमा वैज्ञानिक सोंच, प्रभावकारी समन्वय र दिगो कार्ययोजना मार्फत अझ सबल भूमिकामा अघि बढ्न सरकार प्रतिबद्ध रहेको उनले जनाएका छन् ।