यातायात ब्यवसायी महासंघ रूपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित


बुटवल– नेपाल यातायात ब्यवसायी महासंघ, रुपन्देहीको अध्यक्षमा बुटवल यातायात प्रालिका संचालक कबिन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् । महासंघको दोस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनमा बुद्ध भूमी ट्याक्सी सेवा प्रालिका गोबिन्द बहादुर कुंवरलाई ७ मतले पराजित गरि श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
श्रेष्ठले २३ र कुंवरले १६ मत प्राप्त गरेका थिए । यस्तै महासंघको सचिव पदमा २३ मत प्राप्त गरि बिजय कुंवर निर्वाचित भएका छन् । कुंवरले राम प्रसाद खनाललाई पराजित गरेका हुन् । ४० जना मतदाताले मतदान गरेको निर्वाचनमा खनालले १६ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्ष र सदस्य पदका सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत अर्जुन कार्कीले जानकारी दिए । निर्वाचन समितिका अनुसार महासंघको कोषाध्यक्षमा एजाज वारिस तथा सदस्यमा रामबहादुर शाही, बिष्णुबहादुर खत्री, खडकबहादुर गुरुङ, नरिनारायण घिमिरे, मोहम्मद सहिद मुसलमान र सुनिल गदाल निर्विरोध निर्वाचित भएका छन् ।
यसअघि साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै नेपाल यातायात ब्यवसायी महासंघका उपमहासचिव शम्भु प्रसाद रिजालले यातायात ब्यवसायलाई स्वच्छ प्रतिस्पर्धा मार्फत सम्मानित र मर्यादित गराउनुपर्ने बताए । उनले जनजीवनलाई चलायमान बनाउने, व्यापार, पर्यटन र रोजगारी सिर्जना गरि देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको यातायात ब्यवसाय ब्यवसायीहरुकै अस्वस्थ प्रतिस्पर्धाका कारण मर्यादित हुन नसकेको औल्याए ।
महासंघ लुम्बिनी प्रदेशका संयोजक सन्जिव रोक्काको अध्यक्षतामा भएको साधारण सभामा महासंघका केन्द्रिय सदस्य रबिन्द्रमान श्रेष्ठ, प्रदेश सचिव दीपक प्रसाद श्रेष्ठ, बुटवल यातायात प्रालिका सल्लाहकार डिल बहादुर थापा, पश्चिम नेपाल बस ब्यवसायी प्रालिका रामचन्द्र भुसाल लगायतले बोल्दै अव्यवस्थित नीति र कार्यान्वयन पक्षमा कमजोरी, ऐन–नियम स्पष्ट भए पनि प्रभावकारी कार्यान्वयन नहुने, सडक पूर्वाधारको अभाव, सवारी दुर्घटनाको उच्च जोखिम तथा इन्धन र सञ्चालन लागत वृद्धि यातायात क्षेत्रका प्रमुख समस्या र चुनौती भएको बताए ।








प्रतिकृया दिनुहोस्