June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

मलाई लोभ छैन, कांग्रेस फुट्न नदिन सक्रिय छुः शेखर कोइराला

Advertisement

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी विभाजन हुन नदिन आफू सतर्क र सक्रिय रहेको बताएका छन्। विशेष महाधिवेशनको सन्दर्भमा भिडियो सन्देश जारी गर्दै उनले देश निर्वाचनको संघारमा रहेको र संविधान जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको उल्लेख गरे।

Advertisement

‘महाधिवेशन प्रतिनिधि कांग्रेसको धरोहर हुनुहुन्छ। पार्टीको विधान कार्यान्वयनको लागि भन्दै काठमाडौँमा आउनुभएको छ। निकासका लागि म निरन्तर लागिरहेको छु,’ उनले भने।

उनले जनआन्दोलनपछि प्राप्त लोकतान्त्रिक उपलब्धि र संविधानलाई भावी निर्वाचनमार्फत सुरक्षित गर्नुपर्नेमा जोड दिए। जेनजी आन्दोलनले राजनीतिक दलहरूको कमजोरी उजागर गरेको भन्दै कांग्रेसभित्र संगठित गतिविधि बढ्नु स्वाभाविक भएको उनको भनाइ छ।

कोइरालाले आफूलाई कुनै व्यक्तिगत पद वा महत्वाकांक्षाले नचलाएको स्पष्ट गर्दै पार्टी विधि, प्रक्रिया र एकताको पक्षमा शान्त ढंगले संघर्ष गरिरहेको बताए।

‘म सधै विधि, विधान र संविधान सम्वत ढंगबाट कांग्रेस चलोस चाहनन्थेँ। मलाई मन्त्री-महामन्त्री बन्ने लोभ छैन। विगतमा अवसर आए, तर मैले रुची देखाइन,’ उनले भने।

पार्टीको कार्यसम्पादन समितिमा विशेष महाधिवेशनबारे लिखित धारणा राखिसकेको उल्लेख गर्दै उनले बीपी कोइरालाको मेलमिलापको दर्शनबाट आफू विचलित नहुने स्पष्ट पारे।

उनले सबै कांग्रेसजन एक भएर महाधिवेशनमा जान सकिने भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको धरोहरको संज्ञा दिए र विधान कार्यान्वयनका लागि निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे।