थारु संस्कार अनुसार विवाह गर्ने जोडीलाई दुई लाख


भैरहवा–थारू समुदायमा परम्परागत संस्कार अनुसारको विवाह (बर्का भ्वाज) गर्ने जोडीलाई २ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गरेका छन् । थारु सँस्कृति र परम्पराको संरक्षणका लागि उनले यस खालको घोषणा गरेका हुन् ।
थारु संस्कृतिको संरक्षण र जीवन्त राख्न यस खालको घोषणा गरिएको हो’ पब्लिक कुरासंग उनले भने, ‘सुरुमा यसको सुरुवात दाङ तुलसीपुरबाट गरि थारु जातीको बाहुल्यता रहेको जिल्लाहरुमा क्रमश लागु गरिदै गइने छ ।’ थारु संस्कृतिको संरक्षण र प्रवर्धनका लागि थारु सांस्कृतिक संग्रहालयमार्फत दुलाहा पक्षलाई १ लाख र दुलही पक्षलाई १ लाख रुपैयाँ सहयोग गरिने भएको हो ।
उनको भनाइमा पहिला थारुको विवाह दुलाहाले सेतो कपडा लगाउँथे । तीन दिनसम्म विवाह चल्थ्यो । अहिले टाइसुटमा सजिने गरेका छन् । यो रकम दाङको चखौरामा रहेको थारु संस्कृती संग्रहालयले उपलब्ध गराउने छ । उक्त संग्रहालयको आम्दानीको मुख्य श्रोत संग्रालयमा आउने दर्शकलाई काटिने टिकट हो । चौधरी उक्त संग्रहालयको संरक्षक हुन् । ‘थारु संस्कृतिको अवस्था पुर्वतर्फ कस्तो छ ? थाहा भएन’ चौधरीले भने, ‘पहिला थारु बाहुल्य रहेको पश्चिमी क्षेत्रमा लागु गरेपछि क्रमशः पुर्वी क्षेत्र हुँदै नेपालभरि लागु गरिने छ । यस वारेमा थारु संस्कृति संग्रहालयको बोर्ड बैठकले निर्णय गरिसकेको उनले जनाए ।
दाङको तुलसीपुरमा शुक्रवार नमुना भुह्यारथान, थारु कल्याणकारिणी सभा मटाँवा महासंघ लगायत संस्थाहरूद्वारा आयोजित माघ कार्यक्रममा पनि बोल्दै उनले पछिल्लो समयमा थारु संस्कृति हराउँदै जान थालेको बताएका थिए ।
थारु भेषभूषा, कला, संस्कृति तथा मौलिक गीत ढुम्रु, महोत्या, मागर, सज्ना, मैना, बर्किमार, छोक्रा, हुर्डङ्ग्या र दशैंमा गाइने सङ्ख्या लगायत गीतको संरक्षण र प्रवर्धनका लागि विशेष प्याकेजसहित सहयोग योजना ल्याइएको पनि चौधरीको भनाइ थियो । संग्रहालयबाट प्राप्त आम्दानी थारू भाषा, कला, संस्कृति, भेषभूषा र गीतसंगीतको संरक्षणमा लगानी गरिँदै आएको जनाउँदै उनले थारू समुदायका विभिन्न विधामा अध्ययन तथा अनुसन्धानका लागि समेत बजेट छुट्याइएको बताए ।
थारू भाषा, साहित्य, कला र संस्कृतिसम्बन्धी विषयमा स्नातकोत्तर तहको शोध (थेसिस) लेख्ने विद्यार्थीलाई पनि सहयोग गर्ने योजना रहेको जनाउँदै उनले भने, ‘हाम्रो कला र संस्कृति रहे मात्र हामी थारू रहन्छौं । त्यसैले हाम्रो पहिचान र अस्तित्व जोगाउन हामी आफैं सचेत र जागरूक हुनुपर्छ ।’
माघ पर्वले थारु समुदायमा मात्र नभएर छिमेकी समुदायबिच समेत सामाजिक एकता र सद्भाव बढाउने बताउनुभयो । माघ आर्थिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको पर्व भएको उनले बताए ।
‘मटाँवा र बरघर जोगिए मात्र हाम्रो पूजा, परम्परा, कला र संस्कृति सुरक्षित रहन्छ’ उनले भने, ‘सिंगो गाउँको संस्कृति मटाँवा र बरघरमै अडिएको हुन्छ, त्यसैले हरेक गाउँमा माघी डेवानीमार्फत मटाँवा र बरघर चयन गर्नुपर्छ ।’








प्रतिकृया दिनुहोस्