June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

नेपालको राजनीति अन्तरपार्टी सिन्डिकेटको कब्जामा छः भुसाल

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का कार्यवहाक अध्यक्ष घनश्याम भुसालले कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्मालाई विशेष महाधिवेशनको शुभकामना दिएका छन् ।

Advertisement

कांग्रेसका महामन्त्रीद्वय गगन र विश्वप्रकाशले घोषणा गरेको महाधिवेशनले नेपाली राजनीतिमा ठुलो महत्त्व राख्ने भन्दै भुसालले कांग्रेस कांग्रेसीहरुकै बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पूर्वमन्त्री समेत रहेका नेता भूसलालले गगन थापा र विश्वप्रकाशहरूको नेतृत्वमा हुने नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन उनीहरूकै मामिला भए पनि यसले नेपाली राजनीतिको मधुशाला भत्काउन सके वर्तमान गतिरोध तोड्न असाधारण योगदान गर्ने समेत बताएका छन् ।

‘नेपाली काङ्ग्रेस काङ्ग्रेसीहरु कै हुनु पर्थ्यो । कम्युनिस्ट पार्टी कम्युनिस्टहरू कै हुनु पर्थ्यो । तर लामो समयदेखि नेपाली काङ्ग्रेस काङ्ग्रेसीहरु भन्दा कमरेड ओली, प्रचण्ड र फेरि प्रधानमन्त्री-राष्ट्रपति हुने घिडघिडोमा बाँचेका नेताहरुलाई चाहिएको छ’, भुसालले भनेका छन्, ‘कम्युनिस्ट पार्टी एमालेहरू र माओवादीहरूको भन्दा बढी श्रीमान् देउवा र उहाँको गुटका मानिसहरूको ज्यूनीजस्तो भएको छ ।’ कम्युनिस्ट पार्टीका नीतिहरूमा देउवाको प्रभाव बढी हुने र नेपाली काङ्ग्रेसले के गर्नु पर्छ भन्ने कुरा ओली वा प्रचण्डहरूको स्वार्थबाट प्रभावित हुने गरेको समेत भुसालको भनाइ छ । ‘अर्थात्, नेपालको राजनीति कम्युनिस्ट र काङ्ग्रेसी नेताहरुको अन्तरपार्टी सिन्डिकेटको कब्जामा छ’, भुसालले थप भनेका छन्, ‘र, के कुरा प्रमाणिकरुपमा भन्न सकिन्छ भने कम्युनिस्ट र काङ्ग्रेस भएर जति झगडा गरे पनि खास ठाउँमा त्यस सिन्डिकेटले सबैलाई एकै ठाउँमा ल्याउँछ । त्यस सिन्डिकेटको एकमात्र ध्येय सत्ता दोहन हो, राज्य दोहन हो ।’