भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रमनद्वारा लुम्बिनी भ्रमण


लुम्बिनी– भारतीय सेनाका लेफ्टिनेन्ट जनरल आरएस रमनले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणमा गरेका छन्। बिहीबार उनले लुम्बिनी भ्रमण गरेका हुन् । लुम्बिनी भ्रमणमा आएका जनरल रमनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले स्वागत गरे ।
भ्रमणको क्रममा जनरल रमनले लुम्बिनीका प्रमुख धार्मिक र ऐतिहासिक स्थलहरूको अवलोकन गरेका छन्। उनी मायादेवी मन्दिर, पुष्पकरिणी पोखरी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रोपेको पिपलको रुख अवलोकनका लागि पुगेका थिए।
भ्रमणका अवसरमा सदस्य सचिव श्रेष्ठले जनरल रमनलाई बुद्धको मूर्ति उपहारमा प्रदान गरे। उपहार प्रदान गर्दै श्रेष्ठले नेपालको सांस्कृतिक र धार्मिक सम्पदाप्रति सम्मान प्रकट गरेका छन् ।
उनलाई सदस्य सचिव श्रेष्ठले लुम्बिनी विकास कोषको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वबारे जानकारी गराएका थिए। उनले लुम्बिनीको संरक्षण, पर्यटकीय विकास, अन्तर्राष्ट्रिय सम्बन्ध र सांस्कृतिक धरोहर संरक्षणका चुनौती तथा उपलब्धिहरूबारे पनि चर्चा गरेका थिए ।
जनरल रमनले पनि भारतीय पक्षको दृष्टिकोणबाट लुम्बिनीको महत्त्व, सांस्कृतिक आदान–प्रदान, र द्विपक्षीय सहयोगका अवसरहरूमा आफ्नो दृष्टिकोण राखेका थिए।
कार्यक्रमको दौरानमा दुवै पक्षले लुम्बिनीको सांस्कृतिक धरोहरको संरक्षण, पर्यटन प्रवर्द्धन र लुम्बिनीलाई विश्वभरि सांस्कृतिक र धार्मिक पर्यटकको आकर्षण केन्द्रका रूपमा प्रवर्द्धन गर्नका लागि दीर्घकालीन योजना र सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।
रमनको यो भ्रमणले नेपालको सांस्कृतिक पर्यटन, धार्मिक महत्त्व र द्विपक्षीय सैन्य सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। स्वागत कार्यक्रममा विकास कोषका कार्यकारी सदस्य श्याम रोक्का, लेखा प्रमुख भीम बस्नेत र वरिष्ठ अधिकृत पनि उपस्थित थिए ।








प्रतिकृया दिनुहोस्