लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यले लिए सपथ


बुटवल– लुम्बिनी प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले बिहीवार प्रदेश प्रमुख कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, मुख्य न्यायाधीवक्ता यमलाल खनालको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारी समक्ष सपथ ग्रहण गरेका हुन् ।
यस्तै, नवनियुक्त सदस्य ताराप्रसाद भुसालले नवनियुक्त लोक सेवा आयोगका अध्यक्ष हरिप्रसाद बस्याल समक्ष सपथ ग्रहण गरे । नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ३ बमोजिम नियुक्त आयोगका अध्यक्षले दफा ७ अनुसार कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार नवनियुक्त अध्यक्ष बस्यालले सपथ ग्रहण गरेका हुन् । यस्तै प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ७ बमोजिम आयोगका सदस्यले अध्यक्ष समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्ने प्रावधान छ । सोही अनुसार नवनियुक्त सदस्य भुसाललाई अध्यक्ष बस्यालले पद तथा गोपनियताको सपथ गराएका हुन् । नव नियुक्त अध्यक्ष बस्याल पाल्पा र सदस्य भुसाल अर्घाखाँची निवासी हुन् ।








प्रतिकृया दिनुहोस्