June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

सिप विकासका लागि मिग तथा टिग वेल्डिङ तालिम

Advertisement

भैरहवा– रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोग र बुटवल टेक्निकल इन्स्टिच्युटको आयोजनामा रूपन्देही आसपासका क्षेत्रमा मेकानिकलसँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि मिग तथा टिग वेल्डिङ तालिम समापन गरिएको छ ।

Advertisement

तालिम मङ्सिर २१ गतेदेखि सञ्चालन भएको थियो । २४ दिन (९६ घण्टा) संचालित तालिमबाट सहभागीहरु लाभान्वित भएका छन् । रूपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले तालिम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागीहरूलाई बधाई र शुभकामना व्यक्त गरे ।

अहिलेको यो आधुनिक प्रविधिमा आधारित सिप आजको निर्माण क्षेत्रमा अत्यन्तै आवश्यक भएको बताउँदै यस्तो सीपले युवाहरूलाई रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न ठूलो सहयोग पुर्याउने उनले बताए । रुपन्देही उद्योग संघले विभिन्न तालिम प्रदायक संस्थासँग सहकार्य गरेर विभिन्न विषयमा तालिमको आयोजना गर्दै आएको र यस कार्यक्रमले केवल रोजगारीको अवसर मात्र नभई नेपालको स्वदेशी प्रविधिमा आधारित दिगो विकासको आधार निर्माणमा योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे ।

बुटवल टेक्निकल इन्स्टिच्युटका निमित्त कार्यकारी निर्देशक मानकाजी कुमालले तालिमको सिकाई स्तर प्रभावकारी बनाउन विटीआइको अधिकतम योगदान रहेको जनाउँदै अहिेलेको यो प्रविधिको जमानामा नयाँ प्रविधिको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने र औद्योगिक दक्ष जनशक्तिका लागि यस्ता सिप विकासका तालिमको महत्वपूर्ण योगदान रहेको जनाए ।

प्रशिक्षक देवीप्रसाद भट्टराईले तालिमको उद्देश्य केवल सीप प्रदान गर्नु मात्र नभई, सोच, दृष्टिकोण र व्यवहारमा समेत परिवर्तन ल्याउनु रहेको जनाए । सिकेको ज्ञानलाई निरन्तर अभ्यास मार्फत दक्षता र आत्मनिर्भरता हासिल गर्न प्रेरित गर्नुपर्नेमा उनले जोड दिए ।

प्रशिक्षार्थीको रूपमा आफ्नो भनाइ राख्दै एक्सिस इन्जिनियरिङबाट कमल भण्डारीले तालिमको प्रत्येक सेसन जानकारीमूलक र प्रेरणादायी रहेको भन्दै सिकाई वातावरण सहज, सहयोगी र उत्साहजनक भएको अनुभव सुनाए । साथै अब यस सीपलाई केवल ज्ञानका रुपमा नभई रोजगारी तथा स्वरोजगारको सम्भावनामा रूपान्तरण गर्ने विश्वास व्यक्त गर्दै आधारभूत तालिमले प्रारम्भिक ज्ञान प्रदान गरे पनि व्यवसायिक क्षेत्रमा प्रतिस्पर्धी बन्न एडभान्स लेभलका विषयवस्तु सिक्न जरुरी रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा १२ उद्योगबाट सहभागी २० जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन बुटवल टेक्निकल इन्स्टिच्युटकी निमित्त प्रशासकीय अधिकृत सम्झना सुवेदीले गरेकी थिइन् । तालिमको मुख्य उद्देश्य सहभागीलाई सुरक्षित, गुणस्तरीय र उद्योगमैत्री वेल्डिङ सीपमा दक्ष बनाउनु रहेको रूपन्देही उद्योग संघले जनाएको छ ।