June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको उपाधि अजय सुनारलाई

Advertisement

भैरहवा– नेपाल बिलियर्डस पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिताको उपाधि अजय सुनारले जितेका छन् । बुटवलस्थित खस्यौली स्नूकर क्लबमा सम्पन्न फाइनल खेलमा रुकु खानलाई ५–१ ले पराजित गर्दै अजयले उपाधि जितेका हुन् । उपाधिसँगै उनले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

Advertisement

उपविजेता रुकुले नगद ५० हजार प्राप्त गरे । स्नूकरको जिल्लास्तरीय प्रतियोगिताको विजेताले पाउने यसपटकको पुरस्कार राशी हालसम्मकै सर्वाधिक हो । एक हप्तासम्म सञ्चालन भएको प्रतियोगितामा रोहितमान जोशी राइजिङ प्लेयर र सौरभ श्रेष्ठ अनुशासित खेलाडी भए । उनीहरुले नगद ५–५ हजार र स्नूकर स्टिक प्राप्त गरे ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रममा स्नूकर खेलको विकासमा योगदान दिएवापत चिरन्जिवी जोशी, बुटवल नगर खेलकुद विकास समिति संयोजक बोनिन पिया, निर्णायक दिवस राना र पत्रकार प्रदीप आचार्यलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।

यस्तै प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने व्यक्ति र संस्थालाई पनि सम्मान गरिएको थियो । समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्नूकर खेलको विकासका लागि उपमहानगरले कभर्ड हल बनाइदिने प्रतिवद्धता व्यक्त गर्दै जग्गा खोजीमा लाग्न संघलाई आग्रह गरे ।

संघका अध्यक्ष सुजन पुनले बुटवल उपमहानगरपालिकामा २०७९ को चुनावबाट नयाँ नेतृत्व आएपछि मात्रै बुटवलमा जिल्लास्तरीय र राष्ट्रियस्तरको प्रतियोगिता भब्यताका साथ सम्पन्न गर्न सहज भएको बताए । उपमहानगरको सहयोगका कारण रुपन्देही जिल्ला स्नूकर खेलमा देशभरमै अग्रणी स्थानमा आउन सफल भएको अध्यक्ष पुनले जनाए । सो अवसरमा बुटवलकी उपमेयर सावित्रादेवी अर्याल, प्रथम पुरस्कारको सौजन्यकर्ता समाजसेवी चुन्नुप्रसाद पौडेल, लगायतले बोदै स्नुकर खेल अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठित खेल भए पनि नेपालमा ओझेलमा परेकाले अब तीनै तहका सरकारको ध्यान जानुपर्ने बताए ।

समापन कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष वासु प्रधान, महासचिव प्रकाश क्षेत्री लगायतले आफ्ना भनाई राख्दै प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरे ।