लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट एमालेका उम्मेदवार सिफारिस


भैरहवा- फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके एमालेले दुई क्षेत्रमा एकल र एउटा क्षेत्रबाट तीन जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय सदस्य सूर्य ढकाल र क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य दलबहादुर सुनारको नाम एकल सिफारिस भएको छ ।
क्षेत्र नम्बर २ बाट भने पार्टी अध्यक्ष निरक गुरुङ, कृष्णप्रसाद श्रेष्ठ र अछरी पोखरेलको नाम सिफारिस भएको छ । यस्तै, एमाले रोल्पाले ७ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । एमालेका अनुसार गोकुलप्रसाद घर्तीमगर, मीना बुढामगर, नेपबहादुर वली, ओमराज घर्तीमगर, घनश्याम आचार्य, अजुर्न वली र अस्मिता घर्तीमगरको नाम प्रत्येक्षतर्फ सिफारिस गरिएको हो ।
यता पाल्पा एमालेले १० जनाको नाम सिफारिस गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा दुवै क्षेत्रमा एकल नाममा सहमति जुट्न नसकेपछि क्षेत्र १ बाट ६ र क्षेत्र २ बाट ४ जनाको नाम सिफारिस गरेको एमाले पाल्पा अध्यक्ष ओमबहादुर घर्तीले बताए ।
पाल्पा क्षेत्र नम्बर १ बाट नारायणप्रसाद आचार्य, राधाकृष्ण कँडेल, निल सारू, एमाले जिल्ला उपाध्यक्ष विमल काफ्ले, नेता शिव अर्याल र नेतृ दुर्गादेवी रानाको नाम सिफारिस गरिएको छ ।
यस्तै, क्षेत्र नम्बर २ बाट पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, ठाकुर प्रसाद गैरे, नारायणीदेवी शर्मा घिमिरे र डा.रामबहादुर राउत छन् । बर्दिया एमालेले १० जनाको नाम सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नम्बर १ बाट शालिकराम अधिकारी, कपिल ज्ञवाली, सुरेश रेग्मी, सुष्मा चौधरी र गोविन्द थपलियाको नाम सिफारिस भएको छ भने क्षेत्र नम्बर २ बाट विमला विक, कुलप्रसाद पोख्रेल, शर्मा थारु, पंकजसिंह राठौर र शिवमणि शर्माको नाम सिफारिस गरिएको एमाले जिल्ला कमिटी सचिव पदम ढकालले बताए ।








प्रतिकृया दिनुहोस्