June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

ब्यारेलमा ठोक्किँदा एकजना र ट्रकले ठक्कर दिँदा अर्का एक व्यक्तिको मृत्यु

Advertisement

भैरहवा– भैरहवा भन्सार कार्यालयको फलामको ब्यारेलमा ठोक्किएर एक भारतीय नागरिकको मृत्यु भएको छ । एकजना गम्भिर घाइते भएका छन् । आइतबार राती यातायात आवागमन बन्द भैसकेपछि बन्द रहेको उक्त ब्यारेलमा १०ः १७ को समयमा बेलहियाबाट सुनौलीतर्फ जाँदै गरेको लु ६५ प ५४१ नम्बरको बुलेट मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा सूचना अधिकारी सुरज कार्कीले बताए ।

Advertisement

उनका अनुसार, मृत्यु हुनेमा भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला नौतनवाको कुनसेरवा निवासी ३५ वर्षीय राजन चौरासिया छन् । मोटरसाइकल पछाडी बसेका सोही ठाँउका २८ वर्षीय अजय बिश्वकर्मा घाइते भएका हुन् । घाइते बिश्वकर्माको भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा उपचार भैरहेको छ । उक्त मोटरसाइकल ब्यारेलमा ठोक्किएपछि करिव १ यस मिटर दक्षिण नेपाल–भारत दशगजासम्म उछिट्टिएर पल्टेको थियो ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक हरिराम डाँगीले मोटरसाइकल चालक चौरासियालाई घटना पश्चात् तत्कालै उपचारार्थ भैरहवास्थित भीम अस्पतालमा पुर्याइएको र उपचारको क्रममा उनको अस्पतालमैं मृत्यु भएको बताए ।

यसैगरि, आइतवार राती १२ बजे सिद्धार्थनगरस्थित बर्मेलिटोल चोकमा बेलहियाबाट बुद्धचोकतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०७०० नम्बरको ट्रकले लु ७ प ८५७६ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा एकजना यात्रुको मृत्यु भएको छ । मोटरसाइलमा पछाडी बसेका तिलोत्तमा–९, मंगलापुर बस्ने ६० बर्षका लाल बिहारी बानियाको मृत्यु भएको प्रहरुीले जनाएको छ ।

टाउकोमा चोट लागेर घाइते भएका बानियाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको डिएसपी कार्कीले बताए । मोटरसाइकल चालक रूपन्देहीको ओमसतिया ५, पट्खनैलीका ४५ वर्षीय फकरुद्दिन नाउ भने सामान्य घाइते भएका छन् ।

मेटरसाइकललाई ठक्कर दिएपछि भागेको उक्त ट्रकलाई सिद्धार्थनगर–८, कोल्डस्टोर चोक स्थित भैरहवा–लुम्बिनी हुलाकी सडक खण्डको सर्भिस लेनमा पार्किङ गरी राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । ट्रक चालक बुटवल उपमहानगरपालिका–२, तल्लोफूलबारी बस्ने दीपक अधिकारीलाई नियन्त्रणमा लिइएको छ । घटना पश्चात् सीसी क्यामेराको फुटेजबाट अनुसन्धान गर्दा उक्त ट्रकले ठक्कर दिएको खुल्न आएको कार्कीले बताए ।