June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

‘साई ग्लोबल कप’का लागि क्रिकेट संघ र कलेजबीच सम्झौता

Advertisement

भैरहवा– आगामी माघमा जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल कप क्रिकेट प्रतियोगिता हुने भएको छ । यसका लागि रुपन्देही क्रिकेट संघ र भैरहवास्थित साई ग्लोबल कलेजबीच सम्झौता भएको छ । लामो समयदेखि कलेज आफैले संचालन गर्दै आएको प्रतियोगिता विगत तीन संस्करणदेखि विद्यालयसँगको सहकार्यमा रुपन्देही क्रिकेट संघले संचालन गर्दै आएको छ ।

Advertisement

रुपन्देही क्रिकेट संघका अधयक्ष हरिबहादुर थापाका अनुसार साई ग्लोबल कप क्रिकेट–२०८२ संचालनका लागि दुबै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । संघको तफर्बाट अध्यक्ष थापा, उपाध्यक्ष धीरज अधिकारी क्षेत्री र कोषाध्यक्ष निरजप्रताप खाणले सम्झौतामा पत्रमा हस्ताक्षर गरेका छन् । यसैगरी कलेजका तर्फबाट अध्यक्ष दिनेशमान अमात्य, प्रबन्ध निर्देशक मोतिप्रसाद पौडेल र प्राचार्य लक्ष्मण ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कलेजको ‘टाइटल’बाट कलेज स्तरीय प्रतियोगिता संचालन हुनेछ । रुपन्देही क्रिकेट संघ आयोजक हुने यस प्रतियोगिताका लागि कलेजले ३ लाख रुपैयाँ उपलब्ध गराउने संघका अध्यक्ष थापाले जनाए । सम्झौता कार्यक्रममा बोल्दै अध्यक्ष थापाले विगतमा कलेज आफैले प्रतियोगिता आयोजना गर्दा खर्च बढी आउने तर प्रभावकारी नभएको अवस्थामा संघसँगको सहकार्यले प्रतियोगिता उच्चस्तरीय भइरहेको जनाए । कलेजले संघसँग सहकार्य गरेकामा उनले धन्यवाद व्यक्त गरे ।

कलेजका अध्यक्ष अमात्यले कलेज आफैले प्रतियोगिता आयोजना गर्दा सबै टिम सहभागी नहुने, खर्च बढी हुने र सबै पक्ष सन्तुष्ट नहुने वातावरण देखिएपछि क्रिकेट संघसँग सहकार्य गरिएको जनाए । विगतमा जस्तै यसपटक पनि गुणस्तरीय, आकर्षक र खेलमैत्री वातावरणमा प्रतियोगिता आयोजना हुनेमा आफूहरु विश्वस्त रहेको उनले जनाए । उनले खेलाडी र टीमलाई सन्तुष्ट पार्ने गरी प्रतियोगिता आयोजना गर्न आग्रह गरे ।

सम्झौता कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले क्रिकेटको विकासका लागि संघले गरेका काम प्रशंसनीय रहेको जनाए । उनले विद्यालय, कलेज, बैंक तथा निजी क्षेत्रसँग सहकार्य गरेर क्रिकेटको विकासमा संघले योगदान दिइरहेको देख्दा खुशी लाग्ने गरेको बताए । अब बजेट बनाउँदा क्रिकेटलाई प्राथमिकता राखेर बजेट छुट्याउने उनले प्रतिबद्धता जनाए ।

संघका अनुसार विभिन्न कलेजहरुलाई पत्राचार गरेर प्रतियोगिताको तयारी थालिएको छ । संघका अनुसार रुपन्देहीमा संचालित निजी तथा सामुदायिक कलेजका दर्जन बढी टीम प्रतियोगितामा सहभागी हुनेछन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा प्रतियोगिता टी–ट्वान्टी फम्र्याटमा खेलाइनेछ ।