June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

जलपन्छी गणना गर्न चार सय खटिए

Advertisement

भैरहवा– मुलुकभरका तालतलैया, नदी र सिमसारमा पाइने चरा गणना गर्न चराविद्, नेचरगाइड, वाइल्डलाइफ फोटोग्राफर र स्वयंसेवक गरेर चार सय जना खटिएका छन् । शनिबार सुरु भएको चरा गणना ४ माघसम्म हुनेछ । वेटल्यान्ड इन्टरनेसनलको संयोजन र नेपाल पन्छीविद् संघको समन्वयमा गणना थालिएको हो ।

Advertisement

यसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र पन्छी संरक्षण संघ (बीसीएन) को पनि सहकार्य छ । पूर्वको कोशीदेखि पश्चिममा शुक्लाफाँटासम्मको स्थानमा जलपन्छीको गणना हुनेछ । त्यस्तै तराईको जगदीशपुर पन्छी आरक्षदेखि उत्तरमा हिमाली क्षेत्र रारा तालसम्म गणना गरिनेछ । १८ प्रमुख सिमसार क्षेत्रअन्तर्गत ८० भन्दा बढी ठाउँमा गणना गरिने वेटल्यान्ड इन्टरनेसनलका पानी चरा गणना राष्ट्रिय संयोजक लक्ष्मण पौड्यालले बताए ।

पानी, तालतलैया, सिमसार र आसपासको क्षेत्रमा आहारविहार, प्रजनन र समय बिताउने चराका प्रजातिलाई जलपन्छी भनिन्छ । जलपन्छी मुख्य रूपमा कुन क्षेत्रमा बस्छन् भन्ने जानकारीपछि निश्चित दूरीबाट गणना गरिन्छ । चराको रङ, बनोट र आवाजबारे जानकारी भएका चराविज्ञ, नेचरगाइड दूरबिन र वाइनाकुलर लिएर गणनामा खटिन्छन् । अगाडि देखिने चराको संख्या र प्रजाति टिपोट गरिन्छ । कुनै चराले गणकलाई नाघेर अगाडि गए, संख्या नदोहोरियोस् भनेर उनीहरू त्यसलाई घटाउँछन् ।

गन्तव्यसम्म पुग्न चराले दिशा र बाटो पहिचानका लागि सूर्य तथा ताराको सहारा लिने चराविद् राजेन्द्र गुरुङ बताउँछन् । बसाइँसराइका बेला चराले प्रयोग गर्ने बाटोलाई ‘फ्लाइ वे’ भनिन्छ । विश्वमा ८ वटा यस्ता बाटा छन् । तीमध्ये नेपाल मध्यएसियाको बाटोमा पर्छ । वेटल्यान्ड इन्टरनेसनलको अगुवाइमा विश्वभर नै यही समयमा जलपन्छी गणना हुने गरेको छ ।

पाहुना चराको अवस्था र अन्य चराबारे स्थानीय सचेतनाका लागि पनि गणना आवश्यक भएको चराविद् कृष्णप्रसाद भुसालको भनाइ छ । उत्तरी ध्रुवमा हिमपातको सुरुवात सुरु भएसँगै चरा बसाइँ सर्न थाल्छन् । बढी चिसोले आहारविहार र खानपानमा समस्या हुँदा हिउँदयामको बढ्दो जाडो छल्न यता आउँछन् । रुस, कजाकिस्तान, तुर्कमेनिस्तान, उज्वेकिस्तान, अजरबैजान, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रहरूबाट नेपाल आउने पाहुना चरा यहाँका सिमसारमा हिउँद बिताउँछन् ।

गणनाको रिपोर्ट वैशाखमा मनाइने वन्यजन्तु सप्ताहका बेला सार्वजनिक गरिनेछ । गत वर्ष मुलुकका १८ स्थानका ७८ क्षेत्रमा गरिएको चरा गणनामा ९६ प्रजातिका ९६ हजार ५ सय ६५ चरा गणना गरिएको थियो । नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपन्छी नै छन् । नेपालमा ९ सय ३ प्रजातिका चरा पाइएको अभिलेख छ । त्यसमध्ये १ सय ५० बढी हिउँदमा र ६० बढी ग्रीष्ममा आगन्तुक चरा आउँछन् । हिउँदमा आउने चरामा मुख्यतया हाँस, जलेवा, चखेवा, डुबुल्की चरा र गंगाचिललगायत प्रजातिका छन् ।