June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

खनालद्वारा भेनेजुएलाका राष्ट्रपति मदुरोको रिहाइ गर्न माग

Advertisement

नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले  भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मदुरोको अपहरणको  भर्त्सना गरेका छन् ।

Advertisement

एक प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालले अमेरिकी ट्रम्प प्रशासनको डेल्टा फोर्सले १५० लडाकु विमान प्रयोग गरी भेनेजुएलामाथि ‘नाङ्गो र क्रुर’ हमला गरेको दाबी गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन र घोर अपराधपूर्ण कार्य भनेका छन् ।

नेता खनालले जारी गरेको विज्ञप्तिमा अमेरिकी आक्रमणबाट भेनेजुएलाका कैयौँ निर्दोष नागरिक र सैनिकको हत्या भएको तथा सैन्य संरचना ध्वस्त पारिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘भेनेजुएलाका निर्वाचित र वैधानिक राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरेर अमेरिका पुर्‍याइएको छ । यो भेनेजुएलाको सार्वभौमसत्तामाथिको प्रहार र लज्जास्पद कार्य हो ।’

अमेरिकाले भेनेजुएलाको विशाल तेल भण्डार कब्जा गर्न र लुट्नका लागि लामो समयदेखि षड्यन्त्र गरिरहेको खनालको आरोप छ । मदुरो सरकार अमेरिकाको बाटोमा अवरोध बनेकाले ‘ूड्रग ट्राफिकिङ’ को झुटो र नक्कली बहाना बनाएर यो आक्रमण गरिएको दाबी विज्ञप्तिमा गरिएको छ ।

पूर्वप्रधानमन्त्री खनालले नेपाल र नेपाली जनताको तर्फबाट भेनेजुयाली जनताको प्रतिरोधप्रति ऐक्यबद्धता प्रकट गर्दै राष्ट्रपति मदुरो र प्रथम महिलाको सकुशल रिहाइको माग गरेका छन् ।

साथै, उनले संयुक्त राष्ट्र संघ, तेस्रो विश्वका मुलुकहरू र सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई यस प्रकारको हिंस्रक आक्रमण र ‘ूजङ्गली शासन’का विरुद्ध एकजुट हुन आह्वान गरेका छन् । साना र कमजोर मुलुकहरूको स्वतन्त्रताको रक्षा गर्न र साम्राज्यवादी आक्रमणको अन्त्यका लागि कडा कानुनी कारबाही अघि बढाउन समेत उनले माग गरेका छन् ।