बर्दियामा चितुवासँगै हात्ती आक्रमणको पनि सन्त्रास


भैरहवा–बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्जमा रहेका विभिन्न बन्यजन्तु मुलुककै गहनाको रुपमा छन् । निकुञ्ज र बन्यजन्तुले बर्दिया जिल्लालाई बिश्वमाझ अलग्गै चिनारी र पहिचान दिंदै आएको छ । निकुञ्जमा रहेका बन्यजन्तु हेर्न बिदेशी र स्वदेशी पर्यटक आउने गर्छन् ।
बर्षेनी हजारौं बिदेशी र स्वदेशी पर्यटकलाई आकर्षण गर्दै आएका बर्दिया निकुञ्जमा रहेका बाघ, चितुवा, गैंडा र हात्ती लगायतका बन्यजन्तु निकुञ्ज आसपास क्षेत्रका स्थानीयलाई भने पछिल्ला दिनमा आतँकको कारक बन्न थालेका छन् ।
घाँस दाउरा र गोठ जाने क्रममा जँगलमा निकुञ्जका बन्यजन्तुले मानिसलाई आक्रमण गर्ने क्रम बढ्न थापछि स्थानीयमा आतँक र त्रासदी फैलिन थालेको हो । निकुञ्जमा रहेका बन्यजन्तुको राम्ररी समयमैं व्यवस्थापन गर्न सक्नु पर्ने चुनौती निकुञ्जमाथि देखिएको छ ।
चितुवाको आक्रमणबाट संत्रास फैलिएको बर्दिया जिल्लामा पछिल्लो पटक हात्तीबाट पनि मानिसमाथि आक्रमण हुन थालेको छ । हात्तीको आक्रमणबाट पछिल्लो पटक बर्दियामा एक महिलाले ज्यान गुमाउनु परेको छ । हात्तीको आक्रमणबाट मृत्यु भएकी ती महिलाको शव बिहीवार फेला परेको हो ।
बर्दियाको राजापुर नगरपालिका–१० कर्मोहनीकी ४० वर्षिया बालिका पुरीको हात्तीको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल–भारत सीमावर्ती वनमा भैंसी चराउन गएको वेला उनीमाथि हात्तीले आक्रमण गरेको थियो ।
बुधबार दिउँसो भैंसी चराउन गएका तीनजना स्थानिय महिलामध्ये पुरीलाई हात्तीले आक्रमण गरेको थियो । हात्ती देख्नासाथ अन्य दुईजना भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएसपी देवेन्द्रकुमार मल्लले घटनाको जानकारी पाउनासाथ पुरीको बुधबारदेखि खोजतलास गरे पनि फेला नपरेको र खोजतलासका क्रममा बिहीवार उनको शव फला परेको जनाए ।
मल्लका अनुसार, घटनास्थलमा बिहीबार बिहानै प्रहरी, वनका कर्मचारी लगायत स्थानीय पुगेर खोजी गर्दा पुरीको शव फेला परेको डिभिजन वन कार्यालय, बर्दियालेपनि जनाएको छ ।
बिहीवार बिहान मात्रै बर्दियामा चितुवाको आक्रमणले दुईजना घाइते भउका थिए । साउन महिना यता बर्दियामा चितुवाको आक्रमणबाट ६ जनाले ज्यान गुमाइसकेका छन् भने घाइते हुनेको संख्या एक दर्जन पुगेको छ ।








प्रतिकृया दिनुहोस्