June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

बर्दियामा चितुवाको आक्रमणमा दुईजना घाइते

Advertisement

बर्दिया– जिल्लामा पछिल्लो समय चितुवा आक्रमण बढेको छ । बिहीबार बिहान मात्रै बारबर्दिया नगरपालिका–६, मनिकापुरमा चितुवाको आक्रमणमा दुईजना घाइते भएका छन् । बिहीबार बिहान करिब साढे ७ बजे मनिकापुरस्थित नगर अस्पताल नजिकै चितुवाको आक्रमणमा परि दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement

बस्ती नजिक रहेको जनजागृति सामुदायिक वनबाट आएको चितुवाले आक्रमण गरेको हो । बाटोमा हिँडिरहेको समय सोही ठाउँका ५३ वर्षीय जलविर थारु र २५ वर्षीय ईश्वर थारु घाइते भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका डिएसपी देवेन्द्रकुमार मल्लले बताए । ईश्वरको बाँया खुट्टाको पाइताला र जलवीरको ढाडमा चोट लागेको डिएसपी मल्लले बताए ।

बर्दियामा विगत तीन वर्षदेखि चितुवाको आक्रमणले मानिसको ज्यान जान थालेपछि स्थानीय त्रसित बनेका छन् । बस्तीमा वन्यजन्तुले आक्रमण गर्न थालेपछि चिन्तित र आक्रोशित बन्दै गएका छन् ।

बर्दियामा ५ वर्षयता चितुवा आक्रमणबाट ११ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षमा चितुवाको आक्रमणमा ६ जनाको मृत्यु भएको छ । १० जनाभन्दा धेरै मानिस चितुवाको आक्रमणमा घाइते भएका छन् ।