कपिलबस्तु कारागारका १ सय २१ जना कैदीबन्दी सम्पर्क बाहिर


भैरहवा–जेनजी आन्दोलनका बेला कपिलवस्तु कारागारबाट फरार भएका कैदीबन्दी मध्ये १ सय २१ जना अझै सम्पर्क बिहीन छन् ।
आन्दोलनको बेला कारागारमा रहेका कुल ४ सय ५९ जना कैदीबन्दी मध्ये ४ सय ३० जना भागेका थिए । कपिलवस्तु कारागारका प्रमुख दलबहादुर बस्नेतले तेतीवेला भागेका ४ सय ३० जना कैदीबन्दीमध्ये ३ सय ९ जना कारागारको सम्पर्कमा आएको बताए ।
बस्नेतका अनुसार, २९ कैदीबन्दी भने नभागेर कारागारमै बसेका थिए । उक्त कारागारबाट भागेका कैदीबन्दी भदौ २५ गतेदेखि नै प्रहरीद्वारा पक्राउ पर्न थालेका थिए । पुस १५ गतेसम्म जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट १ सय १५ जना पक्राउ परेका छन् ।
यस बाहेक रुपन्देहीबाट ४, रुकुमपश्चिमबाट एक जनालाई पक्राउ गरी बुझाइएको छ । दाङबाट पक्राउ परेका एक जना कैदीबन्दी हाल दाङ कारागारमा रहेको कपिलबस्तु प्रहरीले जनाएको छ । भागेका मध्ये १ सय ८७ जना कैदीबन्दी स्वयम् उपस्थित भएका छन् । त्यसमध्ये कारागार कार्यालय कपिलवस्तुले प्रकाशित गरेको सूचना बमोजिम असोज १२ देखि २० गतेभित्र २५ जना स्वयं उपस्थित भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी तथा सुचना अधिकारी रिपेन्द्रकुमार सिंहका अनुसार कारागार व्यवस्थापनका क्रममा हालसम्म २० जना कैदीबन्दीलाई अन्य कारागार पठाइएको छ । जसमध्ये, १९ जना केन्द्रीय कारागार काठमाडौँ र एक जना महिला कैदीबन्दीलाई पश्चिम नवलपरासी कारागारमा पठाइएको छ ।
सुरक्षा निकायहरु बिच आपसी समन्वय गरेर फरार कैदीबन्दीको खोजी कार्य जारी रुहेको प्रबक्ता सिंहले जनाए ।








प्रतिकृया दिनुहोस्