ईशानको मृत्युको घटनामा बिस्तृत छानबिन गर्ने प्रहरीको प्रतिबद्धता


भैरहवा–पाँच दिन अघि घर नजिकै मृत अवस्थामा फेला परेका रुपन्देहीको कञ्चन गाउँपालिका–३ का ईशान शर्मा पौडेलको मृत्युको घटना बारेमा रुपन्देही प्रहरीले बिस्तृत छानबिन र अनुशन्धान गर्ने जनाएको छ ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीप बहादुर क्षेत्रीले उक्त घटनालाई रुपन्देही प्रहरीले गम्भिरताका साथ लिएको र बिस्तृत छानबिन र अनुशन्धानका साथ अघि बढेको पब्लिककुरासँग बताए । ‘हामीले यस घटना प्रकरणलाई हरेक पाटो र सुक्ष्म ढंगबाट अनुशन्धान अघि बढाएका छौं’ एसपी क्षेत्रीले भने, ‘यसका लागि रुपन्देही प्रहरीले नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरो (सिआबी) बाट प्राबिधिक टोली मगाएर अनुशन्धान प्रकृया अघि बढाएको छ ।’
नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरोबाट घटनाको छानबिन र अनुशन्धानमा सहयोग गर्न प्राविधिक टोली आइसकेको उनले बताए । गत बुधवार साँझदेखि सम्पर्कबिहीन भएका १७ बर्षिय पौडेलको गत बिहीवार खोजतलासका क्रममा घरनजिकै रहेको नालीमा शव फेला परेको थियो ।
स्थानिय वासीन्दाले पौडेलको स्वभाविक मृत्यु नभइ हत्या भएको दावी गर्दै निष्पक्ष छानबिनको माग गर्दे आएका छन् । पौडेलको टाउकोको पछिल्लो भागमा चोट देखिएको र घटनास्थलमा धेरै रगत नदेखिएकाले अन्यत्र हत्या गरी शव नालीमा फालिएको हुन सक्ने अनुमान स्थानियले गरेका छन् ।
यस घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई पक्राउ गर्न माग गर्दै स्थानियले आइतवार रुद्रपुर इलाका प्रहरी कार्यालयमा केही वेर प्रदर्शन गरेर छानबिन र अनुशन्धानका लागि दवाव दिएका थिए ।
एसपी क्षेत्रीले मृतक पौडेलको पोष्टमार्टम रिपोर्ट एक–दुई दिनमा आउने र उक्त रिपोर्टबाट घटनाका वारेमा थप कुरा खुल्न सक्ने बताए ।
स्थानीयवासीका अनुसार केही दिनअघि विद्यालय परिसरमा एउटा युवतीको विषयलाई लिएर ईशान र उनका साथीबिच विवाद भएको थियो ।








प्रतिकृया दिनुहोस्