रोल्पामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


रोल्पा– रोल्पामा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्लाको रुन्टीगढी गाउँपालिका–५ जस्पुरका ४८ वर्षीय अमराज दमाईलाई ५२ वर्षीया श्रीमती रीमा परियारको हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो।
शनिबार दिउँसो अमराजले श्रीमतीलाई निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट रीमा गम्भीर घाइते भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्कालै अमराजलाई पक्राउ गरेको हो।
कुटपिटबाट सख्त घाइते भएकी रीमालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पुर्याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भयो। घरायसी विवादका कारण कुटपिट भएको हुनसक्ने अनुमान गरिए पनि घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।








प्रतिकृया दिनुहोस्