सुस्तावासीको मन्त्री घिसिङसँग माग : नदी कटान नियन्त्रण र भरपर्दो बिद्युत


भैरहवा–भारतीय पक्षबाट पटक पटक अतिक्रमणको चपेटामा पर्दै आएका पश्चिम नवलपरासीको सुस्तावासीले ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङ समक्ष आफ्नो समस्याका वारेमा अवगत गराएका छन् ।
पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहेका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री घिसिङलाई आइतबार सुस्तावासीले भेट गरि सुस्ताको समस्याका वारेमा अवगत गराएका हुन् । सुस्तावासीले मन्त्री घिसिङलाई ज्ञापनपत्र बुझाउँदै सुस्ताको अस्तित्व रक्षा र विकासका लागि तत्काल कदम चाल्न समेत आग्रह गरेका छन् । नारायणी नदीको कटानका कारण सुस्ता गाउँ कै अस्तित्व संकटमा रहेको वारेमा सुस्तावासीले घिसिङको ध्यानाकर्षण गराएका छन् ।
गण्डक नदीको कटानका कारण सुस्ता गाउँ नै जोखिममा परेकाले समस्याको स्थायी निकासका लागि नदी नियन्त्रण आयोजना प्रभावकारी रुपमा सञ्चालन गर्न माग गरिएको ज्ञापनपत्र बुझाउँदै स्थानीयवासी रवीन्द्र जयसवालले बताए । सुस्तामा निर्माण गरिएको नेपालकै लामो झोलुङ्गे पुलमार्फत बिद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार गरिए पनि भरपर्दो विद्युत सेवा उपलब्ध गराइदिन सुस्तावासीले माग गरे । सुस्तामा राष्ट्रिय प्रसारण लाइनको निरन्तरता नभएको भनाइ स्थानियको छ ।
मन्त्री घिसिङले आइतबार पश्चिम नवलपरासीको भ्रमण गरी निर्माणाधीन विभिन्न आयोजनाहरूको स्थलगत अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले सरोकारवाला निकाय र निर्माण व्यवसायीहरूलाई निर्देशन दिँदै विकासका कामहरूमा ढिलासुस्ती नगर्न र तोकिएको समयमै गुणस्तरीय काम सम्पन्न गर्न सचेत गराएका छन् ।
पश्चिम नवलपरासीको कुडियादेखि बेलाटारीसम्म, बेलाटारीदेखि कठहवा सडक सञ्जाल र बेलाटारीदेखि नारायणचोक सडक सञ्जालको अवस्थाबारे पनि मन्त्री घिसिङले जानकारी लिएका छन् । पश्चिम नवलपरासीको हुलाकी सडक लगायतका अन्य योजना समयमैं निर्माण सम्पन्न नहुँदा स्थानियवासीले बर्षौंदेखि पीडा भोग्दै आएका छन् ।








प्रतिकृया दिनुहोस्