June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

क्रिकेट खेलाडी अलि र प्रशिक्षक थापालाई काशी नाेबलद्वारा सम्मान

Advertisement

भैरहवा–काशी नाेबल एकेडेमी सिद्धार्थनगरले हालै सम्पन्न नेपाल प्रिमियर लिग-२०२५ मा बिजेता भएको लुम्बिनी लायन्समा आफ्नो बिद्यालयबाट सहभागी खेलाडी र बिद्यालयका क्रिकेट प्रशिक्षकलाई सम्मान गरेको छ ।

Advertisement

कक्षा ११ मा अध्ययनरत क्रिकेट खेलाडी समीर अलि र बिद्यालयका क्रिकेट प्रशिक्षक अन्तिम थापालाई बिद्यालयले एक कार्यक्रमबीच जनही १० हजार १ सय ५ रुपैयाँ नगद पुरस्कारसहित दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरेको हो । क्रिकेट खेलाडी अलिको कक्षा ११ र १२ मा लाग्ने कुल शैक्षिक शुल्क १ लाख २७ हजार ६ सय रुपैयाँ पनि मिनाहा गरेको घोषणा बिद्यालयले गरेको छ ।

क्रिकेट खेलाडी अली र प्रशिक्षकलाई सम्मान गर्दै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले काशी नाेबलले बिद्यार्थीलाई शिक्षाको साथसाथै विभिन्न खेलकुदमा सहभागी बनाएर उत्कृष्ट खेलाडी समेत उत्पादन गर्न लागेकोमा प्रशंसा गरे ।

नेपाल प्रिमियर लिग २०२५ सम्पन्न भए लगत्तै लुम्बिनी प्रदेश सरकारले क्रिकेटको बिकास र प्रबद्र्धनका लागि लुम्बिनी प्रदेश प्रिमियर लिग सञ्चालन गर्ने योजनामा रहेको र यसका लागि ३५ लाख रुपैयाको बजेट बिनियोजन गरिएको कुरा मन्त्री पाण्डेले सार्वजनिक गरे ।

प्रदेश लिग सञ्चालनको जिम्मेवारी रुपन्देही क्रिकेट संघलाई दिइने भनाइ मन्त्री पाण्डेको थियो । ‘कुनैपनि मुलुकमा आर्थिक चलायमान बनाउँन खेलकुदको भूमिका महत्वपुर्ण हुने गर्छ’, मन्त्री पाण्डेले भने, ‘हाम्रो देशलाई पनि खेलकुद र पर्यटनको माध्यमबाट आर्थिक प्रगती गर्ने संभवना प्रशस्त छन् । यसका लागि मैले व्यक्तिगत रुपमा केन्द्रिय अर्थ मन्त्रीसंग छलफल गरिरहेको छु ।’ रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले क्रिकेट लगायत् अन्य खेलकुदको बिकासका लागि अन्य बिद्यालयले पनि खेलकुद क्षेत्रमा लगानी गर्न जरुरी रहेको बताए ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, सिद्धार्थनगरका शिक्षा शाखा प्रमुख चेतनशिल लम्साल, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर रायमाझी लगायतले खेलकुदको विकासका वारेमा आ–आफ्नो धारणा राखेका थिए ।

बिद्यालयका प्राचार्य राजेन्द्रप्रसाद घिमिरेले काशी नाेबल एकेडेमीमा बिद्यार्थीलाई शैक्षिक क्रियाकलापको अतिरिक्त क्रिकेट, संगीत, नृत्य, चेस, कराँते, तेक्वान्दाे लगायतका विभिन्न ७ वटा बिधामा प्रशिक्षक राखेर बिद्यार्थीलाई प्रशिक्षण दिँदै आइएको जनाए ।