June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

जेनजी आन्दोलनको नाममा रुपन्देहीमा लुटपाट र आगजनी गर्ने ४० जना पक्राउ

Advertisement

भैरहवा–जेनजी समूहको आन्दोलनका क्रममा रुपन्देही जिल्लाका विभिन्न सरकारी तथा निजी भौतिक संरचनामा लुटपाट, आगजनी तथा तोडफोडमा संलग्न रहेको अभियोगमा प्रहरीले ४० जनामाथि कानुनी कारवाही अघि बढाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी तथा प्रबक्ता सुरज कार्कीले गत भदौ २३ र २४ गते भएको उक्त घटनामा संलग्न रहेको अभियोगमा रुपन्देही प्रहरीले उनिहरुलाई विभिन्न मितिमा पक्राउ गरि छानबिन गर्दै कानुनी प्रकृया अघि बढाइएको पब्लिककुरासँग बताए । ‘मंसिर महिनामामात्रै २३ जनालाई पक्राउ गरि छानबिन जारी राखिएको छ भने हालसम्म ४० जनालाई पक्राउ गरि कानुनी प्रकृया अघि बढाइएको छ’ कार्कीले भने, ‘जेनजी आन्दोलनको नाममा तोडफोड, लुटपाट र आगजनी गर्नेको खोजी कार्य जारी छ ।’

प्रहरीका अनुसार मंसिर महिनामा पक्राउ परेकामध्ये सिद्धार्थनगर नगरपालिका–७ स्थित भाटभटेनी सुपरमार्केट भैरहवा शाखामा तोडफोड, आगजनी तथा खाद्य र नगद चोरी गरेको घटनामा ६ जनालाई नियन्त्रणमा लिइएको छ ।

सिद्धार्थनगर–६, गल्लामन्डीस्थित अस्थायी प्रहरी बिटमा तोडफोड र आगजनी गरी कागजात तथा प्रहरी पोसाक जलाएको अभियोगमा २ जना पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिका–५, मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा आक्रमण, तोडफोड र आगजनी गरी क्षति पुर्याएको घटनामा २ जनालाई नियन्त्रणमा लिइएको छ । देवदह नगरपालिका–९, घोडाहामा नगरप्रमुख ध्रुवप्रसाद खरेलको निजी घरमा अनधिकृत रूपमा प्रवेश गरी धनमाल चोरी गर्दै आगजनी र तोडफोड गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै तिलोत्तमा नगरपालिका–७, मङ्गलापुरस्थित इलाका प्रहरी कार्यालय, प्रहरी बिट र अस्थायी प्रहरी पोस्टमा रहेका सवारी साधन, फर्निचर, विद्युतीय सामग्री तथा प्रहरी पोसाकमा आगजनी र तोडफोड गरेको घटनामा ५ जना पक्राउ परेका छन् ।