चिसोबाट सुरक्षित राख्न बर्दघाट नगरपालिका जुट्यो पूर्वतयारीमा


भैरहवा–बाक्लो हुस्सु तथा कुहिरो र शीतलहरको प्रकोप बढ्न थालेपछि त्यसबाट सुरक्षित राख्न पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पूर्व तयारीमा जुटेको छ ।
चिसोबाट बच्न सर्वसाधारणका लागि नगरपालिकाले नगरका मुख्य चोकहरूमा दाउरा वितरण गर्ने र त्रिवेणी, चिसापानी, भुताहा, मझौनी, भटौलिया र नारायण चोक लगायतका स्थानहरूमा दाउरा बाल्ने व्यवस्था मिलाइएको बर्दघाटका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।
चिसोबाट सर्वसाधारणलाई जोगाउन नगरपालिकाले थालेको योजना तथा कार्यक्रममा निजी क्षेत्र, बर्दघाट जेसिज, नेपाल रेडक्रस सोसाइटी, सामुदायिक वन र राजनीतिक दलहरूसँग समन्वय गरिएको छ । चिसोका कारण नगरमा कोहीपनि न्यानो कपडा र आश्रय स्थलको अभावमा कष्ट भोग्न नपरोस् भन्ने नगरपालिकाको मुख्य उद्देश्य रहेको उनले बताए ।
उनका अनुसार, नगरपालिकाले यस वर्ष शीतलहर लक्षित राहतका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटबाट १ हजार सेट टोपी र मोजा र करिब ५ सय थान कम्मल खरिद गरी बिपन्न परिवारलाई वितरण गरिने छ ।
स्वास्थ्य शाखामार्फत १७ वटा स्वास्थ्य चौकी र शिक्षा शाखामार्फत सामुदायिक विद्यालयहरूमा शीतलहरसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगरपालिका विपद् फोकल पर्सन कृष्ण थापा क्षेत्रीले जनाए ।
चिसोबाट जोगाउन नगरपालिकाले थालेको कार्यक्रमलाई प्रभावकारी र पारदर्शी बनाउन उप-प्रमुख रुद्र प्रकाशको नेतृत्वमा निगरानी तथा अनुगमन समिति गठन गरिएको छ ।








प्रतिकृया दिनुहोस्