June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

लठ्ठिने औषधिले ‘झुम्म’ रूद्रकली र खगेन्द्रप्रसाद कतार पुगे

Advertisement

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतारको दोहा ‘ल्याण्ड’ भएका दुई हात्ती रूद्रकली र खगेन्द्रप्रसादलाई कसरी हवाई यात्रा गराइयो भन्ने जिज्ञासा धेरैलाई छ । बुधबार साँझ साढे ५ बजेट भैरहवाबाट कतार एयरवेजको कार्गो विमानमार्फत साढे चार घन्टाको उडान भरेर दुबै हात्ती मध्यरात दोहा पुगिसकेका छन् ।

Advertisement

गौतमबुद्ध विमानस्थलमा भेला भएका व्यक्तिले पनि बडेमानका हात्ती उडानको बीचमा चलमलाउँदा कतै पाइलटलाई जहाजको सन्तुलन मिलाउन गाह्रो त पर्ने होइन भनेर गाइँगुइँ गरिरहेका थिए । तर, वन्यजन्तु विज्ञले यस्ता सम्भावना अन्त्य गर्न उपाय अपनाएका थिए ।

हात्तीलाई जहाजमा उडाउनुुअघि नै अर्धबेहोस जस्तै बनाउन लठ्याउने औषधि प्रयोग गरिएको थियो । औषिध प्रयोग गरेपछि त्यसको असरले उनीहरू ‘झुम्म’ भएका थिए । त्यसपछि लगभग अर्धबेहोसीकै अवस्थामा जहाजमा राखेर कतार लगिएको चितवन राष्ट्रिय निकुञ्जका प्राविधिकहरूले बताएका छन् ।

विगतमा नेपालले एकसिंगे गैंडा अन्य देशलाई उपहार पठाउँदा यस्तो औषधि दिनुपर्थेन । गैंडालाई जंगलबाट खोरसम्म ल्याउन ‘डार्ट’ (लठ्याउने औषधि लोड गरेको सुई प्रयोग गर्ने विधि) गरिन्थ्यो । खोरमा पसिसकेपछि भने गैंडालाई लठ्याउनु पर्दैन । तर हात्तीको तौल बढी हुने र अलिकति पनि चलमलाएको अवस्थामा जहाजलाई असर पर्न सक्ने भएर लठ्ठिने औषधि प्रयोग गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले बताए ।

पालुवा हात्तीको स्वभाव पनि गैंडाभन्दा फरक हुन्छ । उनीहरू जहाजमा आत्तिएर हलचल गर्न सक्छन् । यसरी हलचल गर्दा दायाँबायाँ ठोकिएर दाह्रा भाँचिन सक्छ । औषधि प्रयोग गरेर लठ्ठ पारेपछि हात्तीले अस्वाभाविक गतिविधि गर्दैन । पूरै बेहोस नभए पनि ऊ धेरै सक्रिय रहँदैन । यी हात्तीलाई कतार पठाउन राष्ट्रिय प्रकृति संरक्षण कोषले दुई महिनाभन्दा बढी समय लगाएर खोर बनाएको थियो । त्यही खोरमा राखेर सोमबार हात्तीहरूलाई चितवनबाट भैरहवा ल्याइएको थियो र बुधबार साँझ त्यही खोरमा राखेर कतार एयरको जहाजमार्फत दोहा पुर्याइयो ।