पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अख्तियारद्वारा विवरण माग


भैरहवा–पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा आर्थिक अनियमितता भएको भन्ने वारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिखित विवरण माग गरेको छ ।
बुटवलस्थित आयोगको कार्यालयले अस्पतालको नाममा पत्राचार गरी आर्थिक अनियमितता भएको भन्ने वारेमा लिखित माग गरेको हो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रकाश ढकालले अख्तियारबाट लिफ्ट लगायत भवन निर्माणका बिषयमा जवाफ माग गर्दै पत्र आएको जनाएका छन् । बिगतमा करोडौं रुपैयाँको आर्थिक अनियमितता भएको भनि अस्पताल माथि लागेको आरोपकाबारे स्वयम अस्पताल प्रशासनले आन्तरिक अनुसन्धान गरिरहेको ढकालले बताए ।
अस्पतालमा यस भन्दा अघिका मेडिकल सुपरिटेन्डेन्ट नूरुल होदासहित तत्कालीन व्यवस्थापक र प्रशासनका कर्मचारीको मिलोमतोमा विभिन्न क्षेत्रमा अनियमितताका कार्य भएको आशङ्का गरिएको छ ।
१४ करोडको योजनामा लिफ्टका लागि २ दुई करोडभन्दा बढी रकम भुक्तानी भइसक्दा पनि लिफ्ट सञ्चालनमा नभएको, निर्माण गरेर मर्मत सम्भारको म्याद समेत सकिन लाग्दापनि अस्पतालको दोस्रो र तेस्रो तल्लामा बिरामी कठिनाईपूर्वक हिँड्नु परेको, ६० लाख मूल्य बराबरको अत्याधुनिक एक्स–रे मेसिन खरिद गरी दाखिला गरिए पनि मेसिन सुरुदेखि नै सञ्चालनमा आउन नसकेको, करोडौँ मूल्यका औजार र उपकरणहरू स्टोरमा थन्किएको लगायत्का अनियमितताको बिषय उठेका छन् ।
कतिपय सामग्रीको विल र आवश्यक कागजात नै नभेटिएको र प्रयोग नहुँदै सर्जिकल सामग्रीहरू खिया लागेर नष्ट हुने अवस्थामा पुगेको कुरा चर्चामा छन् । गत कात्तिक महिनामा अस्पतालका अध्यक्ष जगदीश चौधरीले करोडौँ मूल्यका उपकरण, औजार र मेसिनरीहरूको लगत विवरण तयार पार्न जिम्मेवारी तोकेपछि अस्पताका अनियमितताका बिषयहरु बाहिर आउन थालेका हुन् ।








प्रतिकृया दिनुहोस्