हुस्सुले आज बिहान भैरहवाको भिजिबिलिटी १ सय मिटर


भैरहवा – पश्चिम तराईमा हुस्सु–कुहिरो सुरु भएको छ । जसले गर्दा केही जिल्लामा हवाई सेवा प्रभावित भएको छ । हुस्सु–कुहिरोले खासगरी धनगढी, नेपालगञ्ज र भैरहवा क्षेत्रमा भिजिबिलिटी (दृष्यता) कमजोर हुँदा हवाई सेवा प्रभावित भएको हो । दृष्यताको हिसाबले सबैभन्दा धेरै भैरहवा प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज बिहान ५ः४५ बजेको तथ्यांकमा भैरहवाको भिजिबिलिटी १ सय मिटर मात्रै थियो । कैलालीको धनगढी र धनुषाको जनकपुरमा ५०० मिटरसम्म भिजिबिलिटी छ । मोरङको विराटनगरमा १ हजार, बाँकेको नेपालगञ्जमा १ हजार २ सय र काठमाडौंमा ६ हजार मिटरसम्म भिजिबिलिटी छ । दिउँसोपख हुस्सु कुहिरो क्रमशः घट्दै जाने मौसमविद महर्जन बताउँछिन् ।
मौसमविदहरुका अनुसार दृष्यता एक किलोमिटरभन्दा बढी भएमा हुस्सु र कम भएमा कुहिरो भनिन्छ । यसको अर्थ हुस्सुभन्दा कुहिरो बाक्लो हुन्छ । हुस्सु–कुहिरोले घामका किरण छेक्ने र जमिन तात्न समय लाग्ने भएकाले जाडो महसुस हुने गर्दछ । आज बिहान ५ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ । धनगढीको तापक्रम भने हिजोको तुलनामा खासै घटबढ भएको छैन ।








प्रतिकृया दिनुहोस्