चुनाव केन्द्रित गतविधि गरौंः नेता खाँन


भैरहवा– नागरिक उन्मुक्ति पार्टी, नेपाल (नाउपाने) का वरिष्ठ उपाध्यक्ष अब्दुल खाँनले प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गएकाले चुनाव केन्द्रित गतिविधिमा लाग्न पार्टीका नेता तथा कार्यकताहरुलाई आग्रह गरेका छन् । जेनजी युवा कविर सोबलाई अध्यक्ष बनाएर गठन भएको उक्त पार्टीले अहिले निर्वाचन लक्षित गतिविधि अघि बढाएको छ ।
पार्टीका नेताकार्यकताहरुसँग अन्तरक्रिया गर्न भैरहवा आएका खाँन अगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचन हुनेमा कुनै शंका नरहेकाले चुनाव केन्द्रित गतिविधि गर्न आग्रह गरे । उनले भने, ‘केही दिन तलमाथि हुन सक्छ तर चुनाव निश्चित हुन्छ । जेनजी आन्दोलनको निश्कर्ष पनि चुनाव नै हो ।’ जेनजीको आन्दोलन पश्चात् गठन सरकारको म्याण्डेट नै चुनाव सम्पन्न गराउने भएको उनको भनाई छ । नेकपा एमाले पनि निर्वाचनमा सहभागी हुनका लागि तयारीका साथ दल दर्ता लगायतको प्रक्रिया पुरा गरेको उनको भनाई छ ।
उनले जेनजी आन्दोलन विशुद्ध सुशासन, विकासका लागि भएको र परिवर्तनका लागि निर्वाचन अपरिहार्य रहेको तर पुनः सोही सांसद् (पुराना नेता) लाई नै मतदान गर्नु रगत बगाएका जेनजीहरुमाथि धोका हुने टिप्पणी गरे । उनले नाउपाने समावेशिताको पार्टी भएको उल्लेख गर्दै नागरिकको पहिचान र सम्मान हुनुपर्ने पार्टीको स्पष्ट धाराणा रहेको बताए ।
पार्टीमा एकल नेतृत्व भएको अवस्थामा पार्टी गतिशिल हुन नसक्ने भएकोले ‘मल्टीलिडर’ नेतृत्व हुनुपर्ने आवश्यक रहेको बताए । ‘पार्टीको कुनै कार्यक्रम गर्दा रेशमजीको मात्र फोटो हुनुभएन । स्थानीय नेताको पनि फोटो त्यहाँ राख्दिनुस न ! यसले पार्टीप्रति अपनत्व पनि बढाउँछ’, कार्यकर्तालाई उदाहरण दिदै उनले भने, ‘त्यसैले म भन्छु एकल नेतृत्व हुनुहुँदैन, पार्टीलाई गतिशिल बनाउनुपर्छ । जसका लागि ‘मल्टीलिडर’ नेतृत्व हुनुपर्छ ।’
उनले विकास, रोजगारीसहित नयाँ नेपालको अवधारण अन्तर्गत आफूहरु अघि बढेकोले सबै जात, धर्मलाई साथमा लिएर सामाजिक एकता कायम गर्दै अघि बढ्न आग्रह गरे । उनले जनताको मत लिन नसक्ने भए नेतृत्वमा कमी रहेको स्विकार गर्दै समिक्षाका साथ आत्मआलोचना गर्नुपर्ने बताए ।








प्रतिकृया दिनुहोस्