June 18, 2026, Thursday
२०८३ असार ४ बिहीबार

अन्तरविद्यालय क्रिकेटः न्यु होराइजन र देबदहलाई सफलता, रोहित कुँवरको शतक

Advertisement

भैरहवा- न्यु होराइजन स्कूल र देवदह बुद्ध पब्लिक स्कूलले भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएका खेलमा सफलता हात पारेका छन् । न्यु होराइजनले न्यु मुन एकेडेमीमाथि ८ विकेटको प्रभावशाली जित हात पारेको छ भने देबदहले एभरेष्ट इङ्गलिस बोर्डिङ स्कूललाई १ सय १५ रनको विशाल अन्तरले पराजित गरेको छ ।

Advertisement

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको न्यु मुनले १३ ओभर ५ बलमा अलआउट हुँदै जम्मा ३३ रनको झिनो योगफल बनायो । उसलाई सस्तैमा रोक्न न्यु होराइजनका प्रिन्स पालले ३, अमृत अर्यालले २ तथा अनिष भट्टराई, आयुष पन्थ र श्रीयान ज्ञवालीले समान १–१ विकेट लिए । न्यु मुनका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । श्रीधर न्यौपानेले सर्वाधिक ९ रन बनाए ।

जवाफी ब्याटिङ गरेको न्यु होराइजनले ४ ओभर ४ बलमा २ विकेटको नोक्सानीमा ३६ रन बनाउँदै जित हात पार्यो । उसको जितमा आरुष अधिकारीले सर्वाधिक १९ रन बनाए । बलिङमा न्यु मुनका आषिश यादवले १ विकेट लिए । प्रिन्स पाल प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँबाट पुरस्कृत भए ।

यस्तै, दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको देबदह बुद्धले १ विकेटको क्षतिमा १ सय ७६ रनको बलियो योगफल बनायो । उसका लागि रोहित कुँवरले शतकीय र आयुष पाण्डेले नटआउट अर्धशतकीय पारी खेले । रोहितले ६३ बलमा १७ चौकाको मद्दतमा एक सय रन बनाए । यस्तै, आयुषले ५८ बलमा ७ चौकाको मद्दतमा ५३ रन जोडे । बलिङमा एभरेष्टका सौगात अर्यालले १ विकेट लिए ।

प्रतिउत्तरमा एभरेष्टले १० ओभर ५ बलमा सबै विकेट गुमाएर ६१ रन मात्रै बनायो र हार व्यहोर्यो । उसलाई सस्तैमा रोक्न देबदहका कृष केसीले ४ तथा रोहित कुँवर र प्रिनस शर्माले समान ३–३ विकेट लिए । एभरेष्टका प्रिन्स केसीले सर्वाधिक १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । रोहित कुँवर प्लेयर अफ द म्याच भइृ पाँच सय रुपैयाँबाट पुरस्कृत भए ।

रुपन्देहीका ३० वटा विद्यालयकोे सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ । प्रतियोगितालाई पर्वत ज्वेलर्स, भैरहवाले प्रायोजन गरेको छ ।