June 6, 2026, Saturday
२०८३ जेष्ठ २४ आईतवार

एमाले महाधिवेशनः पोखरेलका ओलीमाथि आरोपै–आरोप, कार्यकर्तामा विभाजन

Advertisement

भैरहवा– नेकपा एमालेको महाधिवेशन नजिकिँदै जाँदा हालका अध्यक्ष केपी ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यषमा भीड्ने लगभग पक्का छ । अहिले प्रतिनिधिहरुले ओली र पोखरेलको पक्षमा विभिन्न पोस्टर बनाएर प्रचार गरिरहेका छन् । नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी भएकाले एमालेको महाधिवेशनलाई सबैले चाख सहित हेरेका छन् । ओली फेरि दोहोरिन चाहन्छन्, पोखरेल ओलीलाई रोक्न लागिपरेका छन् ।

Advertisement

यसैले उनले सोमबार ओलीका बारे लामो वितान्त नै आरोप लगाएका छन् । ओली मौन जस्तो देखिएपनि आफ्ना पक्षका नेताहरुबाट प्रचार र पोखरेलका आरोपका खण्डन गरिरहेका छन् । यी दुई नेताबीचको भीडन्त पक्कै पनि एमाले वृत्तमा कडा हुँदै गएको छ । के पोखरेलले ओलाीलाई रोक्लान ? सबैको चासो छ । धेरै प्रतिनिधि ओली निकट चुनिएकाले उनी नै फेरि अध्यक्ष हुने आँकलन धेरैको छ । तर, पोखरेलले अनेक रणनीति बनाइरहेका छन् ।

यसैले उनले ओली माथि र उनको नेतृत्वको कडा आलोचना गरिरहेका छन् । जे होस् यसपटक पोखरेल र ओलीको भीडन्त रोमांचक नै हुनेछ ।

अध्यक्ष ओलीका कार्यशैलीविरुद्ध लिखित रूपमै वरिष्ठ उपाध्यक्ष पोखरेल समूह आरोपमा उत्रेको छ ।  लिखित दस्ताबेजमा नै ओलीले पार्टीलाई एनजीओ (गैरसरकारी संस्था)करण गरेको अभियोग लगाएको हो ।

पार्टीको ११औँ महाधिवेशनका निम्ति अध्यक्षमा उमेदवारी घोषणा गरेका पोखरेलले सोमबार छुट्टै दस्ताबेज दर्ता गराए । पार्टी कार्यालय च्यासल पुगेर महासचिव शंकर पोखरेललाई दस्ताबेज बुझाएका हुन् ।

“कमिटीहरूमा राजनीतिक वैचारिक बहसको वातावरण कमजोर भएको छ । सिंगो पार्टी राजनीतिक वैचारिक रूपमा होइन, प्राविधिक रूपमा, गैरसरकारी संस्थाको ढाँचाबाट चल्नेगरी रुपान्तरित हुने जोखिम बढेकोे छ,” पोखरेलको दस्ताबेजमा भनिएको छ ।

यस स्थितिबाट पार्टीलाई मुक्त गर्न जनताको बहुदलीय जनवाद (जबज)को मूल सिद्धान्त मूल्य र मान्यतालाई दह्रो गरी आत्मसात गर्नुपर्ने पोखरेलेको ठम्याइ छ ।

त्यस्तै, पार्टी कमजोर हुनुमा सबै ठाउँमा गुटगत गतिविधि भएको र अस्वस्थ प्रतिस्पर्धा भएको विश्लेषण पोखरेल समूहको छ । “…तर यसबीचमा शिरदेखि तिरसम्मै गुटगत गतिविधि तीव्र भए । गुटको आवरणमा वाञ्छित अवाञ्छित, वैध अवैध क्रियाकलाप हुन थाले,” अवधारणापत्रमा भनिएको छ, “प्रतिस्पर्धा स्वस्थ होइन, अस्वस्थ हुन थाले ।”

सदस्यताको शुल्कसमेत अरुले नै तिरिदिने प्रवृत्ति बढ्दा गुटमा सक्रिय नहुने सक्षम र असल कार्यकर्ताहरूमाथि अन्याय भएको ठहर पोखरेल पक्षको छ ।

नवौँ महाधिवेशनपछि जनताको बहुदलीय जनवादले निर्देशित गरेका असल अभ्यासहरू पनि कमजोर बनाएको, पार्टीमा छलफल बहस गर्न रोकेको आरोप लगाइएको छ ।

“छलफल, बहस, आलोचना, आत्मालोचनाको अभ्यासले प्राथमिकता पाउन छोड्यो । भिन्न मत प्रकट हुन नदिने, भइहाले भने असहिष्णुताको व्यवहार गर्ने, कतिपय अवस्थामा प्रतिशोध साँध्नेसम्मका व्यवहार पार्टी जीवनमा देखिए” भनिएको छ ।

सीमित नेताहरू बसेर निर्णय गर्ने र औपचारिकता दिनका लागि कमिटीका बैठकबाट पारित गराउने गैरलोकतान्त्रिक अभ्यासले निर्णयको प्रभावकारी कार्यान्वयन र जिम्मेवारी बहन नहुने समस्या पार्टीमा देखिएको ठम्याइ उनीहरूको छ ।

पार्टीलाई लोकतान्त्रिक मान्यताअनुसार गतिशील बनाउनका लागि पार्टीका पदाधिकारीमा दुईकार्यकालको व्यवस्था लागु गर्नेपर्ने सुझाव दिइएको छ । “…केन्द्रदेखि स्थानीय तहसम्म नयाँ सन्दर्भमा थप परिमार्जन गरी लागु गरिनुपर्दछ,” दस्ताबेजमा भनिएको छ, “जसअन्तर्गत पार्टीका पदाधिकारीहरूमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनर्स्थापित गरिनुपर्दछ ।”

व्यक्तिको योग्यताअनुसार जिम्मेवारी, जिम्मेवारीअनुसार कार्यसम्पादन र कार्यसम्पादनअनुसार मूल्यांकन गरिने परिपाटी हुनुपर्नेमा पोखरेल पक्षको जोड छ ।

पार्टी कार्यालयमा दस्ताबेज बुझाउनुअघि यो समूहले बागबजारस्थित हार्दिक होटेलमा एक कार्यक्रम गरेको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्ने नेताहरूले ओलीको चर्को आलोचना गरे । पार्टी अध्यक्ष ओलीले जे बोले त्यति निर्णय हुने, पार्टीमा छलफल गर्न नदिएको भन्दै आपत्ति जनाए ।

नेता विनोद ढकालले पार्टीमा ओलीले ‘एकल शो’ चलाएको भन्दै आपत्ति जनाए । “पार्टीमा एकल नेता । मै राज्य भन्ने सोच हाबी भयो,” ढकालले भने ।

अर्का नेता परशुमेघी गुरुङले कार्यशैलीका कारण नै अध्यक्ष ओली प्रधानमन्त्री रहँदा सरकारबाट नांगै खुट्टा ओर्लनुपरेको कटाक्ष गरे । उनले पार्टीमा मिठो खाजा कहाँबाट आउँछ भन्ने समेत कार्यकर्ताले थाहा पाउने स्थिति नरहेको टिप्पणी गरे ।

“मिठो खाजा खाने र ताली बजाउने काम भएको छ । बैठकको खाजाको बजेट कहाँबाट आयो पनि थाहा पाउँदैनौँ,” गुरुङले भने ।

स्थायी कमिटी सदस्य कर्ण थापाले अध्यक्ष ओलीले विगतमा भजनमण्डलीले जस्तो गुणगान गाउने भन्दै आलोचना गरेको र आफू पदमा रहँदा सोही ठाउँमा पुुगेको आरोप लगाए । पार्टीका बैठकमा नेताहरूले प्रशंसा गर्दा ओलीको शिर निहुरिने स्थिति बनेको सुनाए । उनले दशौँ महाधिवेशनपछि तीनवटा स्थायी कमिटीका बैठक भने पनि एक वटामा मात्रै बोल्न पाउने गरी बसेको भन्दै अब ओलीको सान्दर्भिकता सकिएको टिप्पणी गरे ।

महाधिवेशनमा प्रतिस्पर्धा हुनुअघि नै पदबाट बाहिँरिदा नै ओलीकै हितमा हुने भनाइ थापाको थियो ।
त्यस्तै, उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा प्रतिस्पर्धा गर्न नदिने र गरिए पनि पहिले नै आफू अनुकूल लिस्ट बाँड्ने गरेकोमा आपत्ति जनाए । चितवनमा भएको १०औँ महाधिवेशनमा उमेदवार र कसलाई भोट हाल्ने भन्ने लिस्ट बाँडिएको थियो ।

“एउटा लिस्ट पास गर्ने र ती लिस्टमा रहेका मान्छेले मात्रै चुनाव लड्न पाउने । यो त गाउँ फर्क शैली होइन र ? २०३२ सालमा गाउँ फर्क लागु भएपछि यही कुरा गरेको थियो,” पाण्डेले भने, “गाउँ फर्कले टिकट दिन्थ्यो, ती मात्रै मान्छे पञ्च भएर चुनाव लड्न पाउँथे । अरूले लड्न पाउँदैनथे ।”

उनले नयाँ पुस्ताले चुनाव नहुने पार्टीमा किन आउने भन्ने प्रश्न गरेको समेत सुनाए । “चुनाव नहुने पार्टीमा किन जाने आउने ? प्रतिस्पर्धा नहुने पार्टीमा किन आउने ? तोकुवा माथिबाट लिस्ट बेच्ने पार्टीमा किन आउने ? जहाँ हाम्रो कुनै सम्भावना छैन भन्ने गरेका छन्,” पाण्डेले भने ।

उपाध्यक्ष युवराज ज्ञवालीले भने पार्टी पद्धतिमा चलाउनका लागि नयाँ व्यक्तिको आवश्यकता परेको बताए । पार्टी नीतिका अधारमा चल्नुपर्ने भनाइ उनको छ । “नीतिको आधारमा पार्टीका सबै नेताहरू चल्नुपर्छ भन्ने मान्यतालाई हामी पुनर्स्थापित गर्न चाहन्छौँ,” ज्ञवाली भन्छन्, “त्यसलाई अगाडि बढाउन चाहन्छौँ । यसकारणले हामीले नेता फेर्न खोजिरहेका छौँ ।”

मंसिर ९ गते अध्यक्षको उमेदवारी घोषणा गरेका पोखरेललाई पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले साथ दिएकी छन् ।

पार्टीका उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डे, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टको साथ पोखरेललाई छ । अरु केही पदाधिकारी मझधारमा देखिन्छन् ।

मंसिर १३ गते भएको प्रतिनिधि छनोटमा सहमति भएका ठाउँमा भागबण्डा र अन्य ठाउँमा प्रतिस्पर्धासहित प्रतिनिधि छानिएका छन् । कतिपय ठाउँमा भने अझै विवाद कायमै छ ।

अध्यक्षमा उमेदवारी घोषणा गरेको यो पक्षले अरु पदमा पनि प्यानलगत प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । महाधिवेशन सुरु हुन पाँच दिन बाँकी हुँदा पनि अरु पदाधिकारीको घोषणा गरिसकेको छैन । उपाध्यक्ष पाण्डेले पदाधिकारीका लागि आफूहरूमा कुनै विवाद नभएको बताए ।