बर्दियाको राजापुरमा गोली प्रहारबाट एकको हत्या



बर्दिया– लुम्बिनी प्रदेशमा गोली प्रहारका घटना थामिएका छैनन् । शनिवार प्रदेश राजधानी दाङको लमहीमा सुन पसलमा कार्यरत कर्मचारीमाथि गोली प्रहार भएको थियो । त्यसको अर्कोदिन बर्दियामा घटना भएको छ । पछिल्लो समय सिमावर्ती जिल्लामा भइरहेका यस्ता घटनाका कारण त्रास छ ।
बर्दियामा गोली प्रहारबाट एक जनाको हत्या गरिएको छ । गोली प्रहारबाट राजापुर नगरपालिका–४, स्थित हमार थारु घर रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीको मृत्यु भएको हो । अचेत अवस्थामा थारु घरमा फेला परेपछि उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पतालमा लगिएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए ।
गोली उनको गाला र दुबै कानमा लागेको प्रहरीले जनाएको छ । घटनास्थलबाट गोलीका खोका फेला परेको प्रनि कार्कीले बताए । उनको शव पोष्टमार्टमका लागि नेपालगन्जमा राखिएको र रिपोर्ट आएपछि थप जानकारी प्राप्त हुने उनको भनाइ छ । दाङ, तुलसीपुर नगरपालिका–५ का निरज थारुको गोली प्रहार गर्ने मानिस मोटरसाइकलमा फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले गोली काण्डबारे पोष्टमार्टमको रिपोर्ट नआएसम्म विस्तृत जानकारी दिन नसकिने बताएको छ । कसले र किन हत्या गरेको हो भन्ने खुलेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयले अनुसन्धान जारी राखेको छ ।








प्रतिकृया दिनुहोस्