June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

मानवीय सेवालाई कसैले पनि भुल्नु हुँदैनः मन्त्री तिमिल्सिना

Advertisement

दाङ– लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मानवीय सेवालाई कसैले पनि भुल्न नहुने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको आयोजनामा आइतबार राप्ती उपत्यका (देउखुरी) मा भएको सरोकारवालाको बैठकमा मन्त्री तिमिल्सिनाले मानवीय सेवा नै सर्वोत्तम सेवा भएको उल्लेख गर्दै त्यसमा सबै जिम्मेवारीपूर्वक लाग्नुपर्ने आवश्यकता औंल्याए ।

Advertisement

‘अति आवश्यक विषयलाई प्राथमिकता दिएर विपद् व्यवस्थापन र मानवीय सेवामा सरकार प्रतिबद्ध छ’, उनले भने, ‘मानव जीवनसँग जोडिएका सेवालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने छ ।’ बैठकमा आर्थिक वर्ष २०८१–०८२ मा सम्पन्न भएका योजनाको समीक्षा र भावी योजनाबारे छलफल गरिएको थियो ।

प्रदेश तहमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सहकार्यलाई प्राथमिकतामा राखिनुपर्ने, भैरहवा र नेपालगन्जका विपद् भण्डारणगृहमा रहेको सामग्रीबारे जानकारी गराइएको थियो । बैठकमा सरकारका विभिन्न तहमा रहेका आपतकालीन कार्य संचालन केन्द्रहरूलाई थप व्यवस्थित बनाउँदै लैजानुपर्नेमा जोड दिइएको थियो । यसका लागि रेडक्रस, प्रदेश सरकार र सरोकारवाला निकायबीच साझा प्रयास आवश्यक रहेको रेडक्रस लुम्बिनीका अध्यक्ष लालप्रसाद पंगेनीले बताए ।

बैठकलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोकबहादुर सुनार सहित रेडक्रसका १२ जिल्लाका सभापति तथा सरोकारवाला निकायका पदाधिकारीहरूले धारणा राखेका थिए ।