रूपन्देही प्रशासन अगाडि जसपा नेपालको धर्ना


भैरहवा– जनता समाजवादी पार्टी (जसपा) नेपालले जिल्ला प्रशासन कार्यालय, रुपन्देही अगाडि धर्ना दिएको छ । आइतबार पार्टीको जिल्ला समिति, रुपन्देहीले प्रशासन कार्यालय अगाडि धर्ना दिएको हो । संविधान संशोधनसहित विभिन्न २८ बुुँदे माग राख्दै जसपा यतिबेला आन्दोलनमा छ ।
केन्द्रीय समितिको निर्णय बमोजिम आइतबार रुपन्देहीमा पनि एक घण्टा प्रशासन अगाडि धर्ना दिइएको उक्त पार्टीले जनाएको छ । जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार एक घण्टा शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको बताए ।
धर्नामा सहभागीहरु जसपा नेपालका नेता–कार्यकर्ताहरुले २८ बुँदे माग पूरा गर, मलखादको व्यवस्था गर, स्थानीय तहलाई प्रादेशिक क्षेत्राधिकार भित्र कायम गर, जनताद्वारा निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर, निर्दलीय स्थानीय चुनावको व्यवस्था गर, नेपाल सरकारले गर्ने राजनीतिक नियुक्तिहरुमा भागबण्डाको अन्त्य गर, संविधान संशोधन तथा पुनर्लेखन गर, हाम्रा किसान, हाम्रा सान, प्रदेशहरुका लागि प्रहरी र कर्मचारी समायोजन लागू गर लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
धर्नामा पार्टीका केन्द्रीय सदस्यहरु, लुम्बिनी प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही जिल्लाका पदाधिकारी तथा सदस्यहरु, जिल्लास्थित पालिकाका पदाधिकारी तथा सदस्यहरु र कार्यकर्ताहरुको सहभागिता थियो ।








प्रतिकृया दिनुहोस्