जसपाको लुम्बिनी प्रदेश समिति पुनर्गठन, अध्यक्षमा पठान


बुटवल– अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ । कपिलवस्तु जिल्लामा सम्पन्न पार्टीको भेलाले प्रदेश समिति पुनर्गठन गरेको हो । भेलाले अकरम पठानको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।
पार्टीको नवगठित प्रदेश समितिको उपाध्यक्ष पदमा नेत्रबहादुर थापा, मोहम्मद अस्लम अन्सारी एवम् लालिमा मल्ललाई चयन गरिएको छ । त्यसैगरी मुख्य सचिवमा विवेकचन्द्र मिश्र चुनिएका छन् भने सचिव पदमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्ष पदमा मोहम्मद जुनेद कादरी चयन भएका छन् ।
त्यस्तै प्रदेश सदस्यहरुमा राजिव बर्मा, तरन्नम बानु ढपाली, साबित्री गिरी, वाहिद हलुवाई, जकी खान, सगीर खान, अमोद तिवारी, अनिल जयसवाल, नदीम इदरिसी, नसिम पठान, मोसिम कमल, मोहम्मद अनिकुर रहमान, शिर बहादुर बुढा, बिन कुमार बुढा, रमजान अली, दीपक गुप्ता, कृष्ण गुप्ता, इरफान अलि, राकेह कुर्मी, महनाज खान, इन्द्र बहादुर गेलाङ, कविता मुखिया, कलामुद्दीन खान, राजेन्द्र विक, राजकुमार गाह, सिर्जना भण्डारी, तुलसादेवी श्रेष्ठ लगायत ४२ जना चयन भएका छन् ।
भेलामा बोल्दै पार्टीका अध्यक्ष राईले मुलुक दलहरुबिचको भागबन्डाको राजनीतिले थिलोथिलो भएको बताउँदै अब भागबन्डाको राजनीति अन्त्य हुनुपर्ने बताए । भ्रष्टाचार र घुसखोरीको दुष्चक्रबाट देशलाई उकास्नु नै अबको राजनीतिक कार्यभार भएको बताउँदै जनता समाजवादी पार्टीले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा दीगो राजनीतिक निकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्नुपर्ने माग पार्टीको स्थापनाकालदेखि नै उठाउँदै आएको जनाए ।








प्रतिकृया दिनुहोस्