आर्थिक चलखेल गरेको भन्दै लुम्बिनीकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग


भैरहवा– ठेक्कापट्टामा आर्थिक चलखेल र लुम्बिनी विकास कोषको मुख्य कार्यालयमा हाजिर नभएको भन्दैं लुम्बिनीका स्थानीय युवाको समूह रेस्पोन्स टिमले कोषकी योजना प्रमुख स्मिता भट्टलाई निलम्बन गर्न माग गरेको छ ।
योजना प्रमुख भट्टले लुम्बिनीस्थित मायादेवी मन्दिरमा दीप प्रज्वलन स्थलको ठेक्कामा आर्थिक चलखेल गरेको र दुई वर्ष अवधिमा कार्यालयमा न्यून उपस्थिति जनाएको उल्लेख गर्दै उनीहरूले निलम्बन र छानबिन माग गरेका हुन् ।
लुम्बिनी रेस्पोन्स टिमले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरेर लुम्बिनी गुरुयोजनाका सबै परियोजनाको स्वतन्त्र अडिट गरिनुुपर्र्ने, सरकारी सुविधा दुरुपयोगबारे सम्पत्ति शुद्धीकरण सम्बन्धी छानबिन गर्नुपर्ने र पदको दुरुपयोग रोक्न नसक्ने जिम्मेवार पदाधिकारीलाई बर्खास्त गर्न पनि माग गरेको छ ।
पछिल्लोपटक ३ करोड ५६ लाख रुपैयाँको दियो बत्तीको ठेक्कामा टेण्डरमा योजना प्रमुख भट्टले आफू निकटका ठेकेदारलाई टेण्डर दिलाउन प्रयास गरेको रेस्पोन्स टिमको आरोप छ ।
टेण्डरको फर्म बुझाउने समय दिउँसो १२ बजेसम्म मात्र भएको र त्यतिन्जेल तीन वटा फर्मले बुझाइसकेको अवस्थामा १२ बजेपछि पनि भट्टले आफू निकटका ठेकेदारलाई आवेदन हाल्न दिन प्रयास गरेको तर स्थानीयले रोकेको अध्यक्ष जसमेर खानले बताए । ‘योजना प्रमुखले आफू नजिकको ठेकेदारलाई आफ्नो कार्यकक्षमा राखेर टेण्डर हाल्ने समय सकिएपछि पनि हाल्न लगाउने प्रयास गरेको स्थानीयले प्रत्यक्ष देखेका छन्’, खानले भने, ‘छानबिन गर्ने र कार्यालयको सिसिटिभी फुटेज हेर्ने हो भने मिलेमतो गरेको पुष्टि हुन्छ ।’
लुम्बिनी विकास कोषमा निर्माण सम्बन्धी काम गरेका एक ठेकेदारले आफूले करोडौं भुक्तानी पाउन बाँकी भएको बताए । ‘यहाँ घुस नबुझाएसम्म नियमसंगत तरिकाले ठेक्का पाउन सकिन्न यो सत्य हो,’ उनको दाबी छ । कोषको हाजिरी तथ्यांक अनुसार योजना प्रमुख भट्ट गत आर्थिक वर्ष ३ सय ११ कार्यदिन हुँदा ८२ दिन मात्र कार्यालयमा हाजिर भएकी थिइन् । योजना प्रमुख भट्टले कोषलाई व्यक्तिगत स्वार्थ, ठेक्कापट्टा र कमिसनको अड्डा बनाएको आरोप लगाउँदै यस्ता गतिविधि सह्य नभएको खानले बताए ।








प्रतिकृया दिनुहोस्