June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

दुर्गम क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न शिविर प्रभावकारीः मुख्यमन्त्री आचार्य

Advertisement

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुर्गम बस्तीमा उपचार सेवा पुर्याउन स्वास्थ्य शिविरलाई अभियानका रुपमा अघि बढाइने बताएका छन् । स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर रहेका नागरिकका लागि निःशुल्क शिविर प्रभावकारी बन्दै गएकाले सरकारले पनि यसलाई प्राथमिकतामा राखेको उनले स्पष्ट पारे ।

Advertisement

छत्रदेव गाउँपालिका–५ मा स्थानीय सरकारसँगको समन्वयमा छत्रगञ्ज–रुपन्देही सम्पर्क समाजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने महत्वपूर्ण माध्यमका रुपमा शिविरले योगदान दिएको बताए । ‘स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका नागरिकको उपचारका लागि समाजले थालेको यो अभियान प्रशंसनीय छ । यसले दूरदराजका समुदायलाई घरमै निःशुल्क उपचार सेवा उपलब्ध गराउन मद्दत पुर्याइरहेको छ’, भने, ‘यस्ता अभियानलाई निरन्तरता दिन आवश्यक छ ।’

समाजले विगत तीन बर्षदेखि नियमित रुपमा शिविर सञ्चालन गर्दै आएको छ । छत्रगञ्ज–रुपन्देही सम्पर्क समाजका अध्यक्ष सिद्धार्थ पन्थीका अनुसार शिविरमा निःशुल्क भिडियो एक्सरे, औषधि, ल्याब सेवा, इसिजी, आँखा तथा दाँत परीक्षणलगायतका सुविधा प्रदान गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्ने अन्य वक्ताले पनि स्वस्थ र उत्तरदायी समाज निर्माणमा स्वास्थ्य शिविरहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।