सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराइजन जिबिएस


बुटवल– बुटवलमा सम्पन्न दोस्रो क्यानन सेभेन ए साइड फुटबल प्रतियोगिता २०८२ को उपाधि होराइजन जिविएसले हात पारेको छ । क्यानन मावि बुटवल सुख्खानगरको आयोजनामा भएको फाइनल खेलमा होराइजन जिबिएसले उपाधि चुमेको हो । जिबिएसले गत वर्षको विजेता स्कलर्स होम बोर्डिङ स्कुललाई सडेन डेथमा पराजित गरेको हो ।
उपाधिसँगै होराइजन जिबिएसले नगद ५५ हजार ५५५ रुपैयाँ, शिल्ड, प्रमाणपत्रबाट पुरस्कृत भयो भने उपविजेता स्कलर्स होम स्कूले ३३ हजार ३३३ रुपैयाँ, कप, मेडल प्रमाणपत्रमा चित्त बुझायो । सिद्घेश्वर खेलमैदानमा भएको निर्धारित समय बराबरी गोल भए पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा पनि बराबरी भएपछि खेल सडेनडेथमा ४–३ गोलले होराइजन जिबिएसले उपाधि चुम्न सफल भएको हो ।
विजेताहरुलाई राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनीका प्रमुख रमाकान्त तिवारी, विद्यालयका अध्यक्ष थानेश्वर पौडेल, विद्यालयका प्रधानाध्यापक शंकर भण्डारी, प्याप्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपाने, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका सहप्राचार्य विष्णु न्यौपानेले पुरस्कार वितरण गरेका हुन् ।
प्रतियोगितामा स्कलर्स होमका क्याप्टेन सुसान्त थापा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३ हजार रुपैयाँ सहित पुरस्कृत भए । यस्तै होराइजन जिविएसका अज्जु सारु मगर उत्कृष्ट गोलरक्षक र स्कलर्स होमका सुमित पुलामीमगर सर्वाधिक स्कोरर घोषित हँुदै नगद २ हजार ५ सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको खेल संयोजक पवन बस्यालले बताए । फाइनल खेलमा होराइजन जिविएसका अज्जु सारु मगर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
मंसिर १४ गतेबाट शुरु भएको प्रतियोगितामा ३० वटा विद्यालयहरु भाग लिएको अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले बताए । पुरस्कार वितरणका क्रममा प्रतियोगिता आयोजनामा सहकार्य गरेकाहरुलाई सम्मान समेत गरिएको थियो । गत वर्ष स्कलर्स होम बोर्डिङ स्कूलले उपाधि चुमेको थियो भने नविन औद्योगिक कदरबहादुर रीता मावि उपविजेता बनेको थियो ।








प्रतिकृया दिनुहोस्