एमालेकी रेवती गुरुङ बनिन् लुम्बिनी प्रदेश सांसद


भैरहवा– निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा एमालेबाट रेवती गुरुङले प्रदेशसभा सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छिन् । लुम्बिनी प्रदेशसभा सचिवालयले गुरुङलाई प्रदेशसभा सदस्य नियुक्त गरिएको जनाएको छ ।
रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो । पुनको निधनपछि रिक्त भएको समानुपातिक सूचीमा महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रमअनुसार रुपन्देहीको देवदह नगरपालिका–५ निवासी गुरुङलाई मनोनयन गरिएको हो ।
गुरुङ एमालेको बन्द सूचीमा क्रम नम्बर १३ मा रहेकी र प्राथमिकता सूचीको पहिलो स्थानमा परेकाले अवसर पाएकी हुन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० (२) तथा निर्वाचन नियमावली, २०७४ को नियम ४७ (५) बमोजिम रिक्त स्थानमा सूचीकृत क्रमअनुसारका उम्मेदवार नियुक्त हुने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार गुरुङलाई प्रदेशसभामा सभामुख तुलाराम घर्ती मगरले मंगलबार प्रदेशसभा सदस्य पदको शपथ गराएका छन् । एमाले रुपन्देहीमा तीन कार्यकाल जिल्ला सदस्य बनेकी गुरुङ यसअघि एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । लामो समयदेखि राजनीतिमा क्रियाशील गुरुङले २०७९ को निर्वाचनको पहिलो चरणमै प्रदेशसभा सदस्य बन्ने आशा राखे पनि नपाएपछि असन्तुष्ट थिइन् ।








प्रतिकृया दिनुहोस्