अधिकांश नेपाली यात्रु सवार भारतीय बस दुर्घटना, तीनको मृत्यु २४ घाइते


भैरहवा–अधिकांश नेपाली यात्रु लिएर सुनौलीबाट भारतको दिल्ली जाँदै गरेको भारतीय नम्बरको एउटा बस दुर्घटना हुँदा तीन यात्रुको मृत्यु भएको छ । दुर्घटनामा २४ जना यात्रु घाइते भएका छन् ।
दुर्घटना भएको १६ घण्टासम्मपनि मृत्यु भएका यात्रुको पहिचान खुल्न सकेको छैन । घाइते भएका यात्रुमा अत्याधिक नेपाली छन् ।
प्राप्त समाचार अनुसार, सोमवार राती ९ बजेतिर सुनौलीबाट दिल्लीका लागि छुटेको युपी २२ एटी ०२४५ नम्बरको बस र युपी २१ डीटी ५२३७ नम्बरको भारतीय ट्रक भारतको उत्तरप्रदेशस्थित बलरामपुर जिल्लाको ग्रामिण क्षेत्रमा पर्ने फुलवरिया बाइपासमा मंगलवार राती सवा २ बजेतिर आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।
बस र ट्रक आपसमा ठोक्किएपछि अनियन्त्रित भएको बस घिस्रीदै सडक किनारामा रहेको बिजुलीको पोलमा समेत ठोक्किन पुगेको थियो । जसका कारण बिजुलीको तार झरेर बसमा आगलागी भएको पछि यात्रुको मृत्यु र घाइते भएको बताइएको छ ।
भारतीय बिभिन्न सञ्चार माध्यमले जनाए अनुसार, घाइते हुनेमा बुटवलका ३० बर्षिय शिव बहादुर परियार, गुल्मीकी २४ बर्षिय पुर्णीमा परियार, नवलपरासीका ५८ बर्षिय कृष्ण बहादुर, नवलपुरकी ५२ बर्षिया बिष्णु माँया, बुटवलका १६ बर्षिय अनिल बहादुर, बुटवलकै २४ बर्षिया सरस्वती पौडेल, बुटवलका ४२ बर्षिय दिवाकर र भारतको सुर्पोल बिहारका २४ बर्षिय खारुल बसल र ३० बर्षिय नौशाद अली रहेका छन् ।
यसैगरी, बुटवलका २६ बर्षिया रिचा योगी, गुल्मीका २३ बर्षिय बिशाल गुरुङ, ६० बर्षिय लाल बहादुर, २८ बर्षिया उषा, भारतको हरियाणास्थित निलूखेड़ीका २७ बर्षिय बिक्रम, स्याग्जाका ३३ बर्षिय सुभाष आर्यन, इटहरीका ४९ बर्षिय कन्नल बहादुर र २६ बर्षिया भुषण, पाल्पाका ४५ बर्षिय ओम बहादुर, गुल्मीका १८ बर्षिय बसन्त, बुटवलका २५ बर्षिय सनम र अनिशा, गुल्मीका द्द६ बर्षिय गुल बहादुर, ठेगाना नखुलेका नेपाली नागरिक ५० बर्षिय बोध बहादुर र बुटवलकी ६० बर्षिया धन कुमारी छन् ।
घाइतेहरुको मेमोरियल अस्पताल बलरामपुर, मेडिकल कालेज बहराइच, मेडिकल कलेज लखनउ लगायतका अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।








प्रतिकृया दिनुहोस्